Mon, 21 Jan, 2019


पुस २७ मात्रै ‘एकता दिवस’ !
ज्वालामुखी लामिछाने
फरकधार / पुस २६, २०७५

नेपालमा ‘राजावादी नेता’को छवि बनाएका राप्रपा अध्यक्ष कमल थापालाई युवाहरूको एउटा समूहले ज्ञापनपत्र बुझाउँदै अनुनय गर्यो– पुस २७ लाई राष्ट्रिय एकता दिवस घोषणा गरी सार्वजनिक बिदा दिन पहल गरियोस् । केही दिनअघि नेपाल सरकार आफैँले पोहोर कटौती गरेका कतिपय बिदाहरूलाई पुनःस्थापन गरेको घोषणा गर्यो, तर ‘पुस २७’ उक्त निर्णयको पुनःस्थापित बिदाहरूको फेहरिस्तमा समेटिएन । 

त्यसपछि देशभक्त(?)हरू, राष्ट्रवादी(?)हरूको आक्रोशको ज्वारभाटा यसरी उठ्न थाल्यो कि उक्त ज्वारभाटाको प्रभावले सञ्चारमाध्यम र सामाजिक सञ्जालसमेत हल्लिन थाले । त्यो हल्लाइको ग्राफ अझ उकालो चढ्दो छ । पुस २७ राष्ट्रिय एकता दिवस हो र हुनुपर्छ र बनाइनुपर्छ भन्नेहरूको डाँको निकै ठूलो छ भने ‘पुस २७’माथि आलोचनात्मक विचार बोक्नेहरूको आवाजको भोल्युम कहिले ‘हाई’ हुन्छ त कहिले ‘लो’ । र, अहिले त यो ‘अलमस्ट लोएस्ट’ पोजिसनमा भएको जस्तो आभास हुन्छ ।

पुस २७ राष्ट्रिय एकता दिवसको रूपमा मनाइनुपर्ने तर्क गर्नेहरू भन्छन्, ‘पृथ्वीनारायण शाह नेपाल एकीकरणकर्ता हुन्, त्यसैले उनको जन्मदिन स्वतः राष्ट्रिय एकता दिवस हुनुपर्छ ।’ यो तर्कलाई समर्थन गर्ने कतिपय उग्रसमर्थकहरूको विचार त कतिसम्मको छ भने– पृथ्वीनारायण शाह १७७९ पुस २७ मा जन्मिएका नै नेपाल एकीकरण गर्नका लागि नै हो । नेपाल बाइसी–चौबिसी राज्यमा विभाजित भएर (हुन त बाइसी चौबिसी राज्यको अस्तित्वमाथि पनि प्रश्नहरू छन् ।) एक–आपसमा नै लडिरहेको समयमा, काठमाडौं खाल्डोसमेत टुक्रिएर एकापसमा शत्रुतापूर्ण व्यवहार गरिरहेको घडीमा उनको जन्म हुनु संयोग मात्र त हुनै सक्दैन । यदि पृथ्वीनारायण नजन्मेका भए नेपाल एकीकरण हुन सक्दैनथ्यो, नेपाल एकीकरण नभएको भए नेपाल उहिल्यै इस्ट इन्डिया कम्पनीले निलिसक्थ्यो अनि न हाम्रो नेपाल रहन्थ्यो न हामी नेपाली हुने सुअवसर नै प्राप्त गथ्र्यांै, न सगरमाथा हाम्रो भन्न पाइन्थ्यो न त गौतम बुद्धको जन्मस्थल भएको देशको बासिन्दा हामी रहन्थ्यौँ । नेपाल एकीकरणजस्तो महान् कार्यका सूत्रधार नै नेपाली राष्ट्रिय एकताका एक्ला नायक हुन् । अनि उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवस नमानेर हामी कसरी नेपाली रहिरहन सक्छौँ ?

निम्न तथ्यहरू लुकाएर मात्र माथि उल्लिखित भनाइबारे सोच्न सकिन्छ । राजा मानदेवको कुनै पनि शिलालेखमा उनले आफू नेपालको राजा भएको नलेख्नुको अर्थ एउटै लाग्छ कि त्यो समयमा नेपाल नामको देश थिएन । विभिन्न हिन्दू धार्मिक ग्रन्थ विशेषतः वेदमा नेपाल नाम उल्लेख हुनुले यो भारतवर्षमा अस्तित्वमा रहेको एउटा भौगोलिक एकाइ थियो भन्ने बुझिन्छ, तर यो देशको परिभाषाअन्तर्गत राख्न मिल्ने प्रकृतिको थिएन । 

हाल नेपाल देशको भूगोलभित्रै बसोवास गर्नेहरूले पनि भारतवर्षको कुनै सभ्यताबाट नै यो नाम ल्याएको बुझ्ने आधारहरू छन् । अर्कोतिर पृथ्वीनारायणअघिको समयको कुनै खण्डमा नेपाल विशाल थियो, एउटै देश थियो बीचमा टुक्रिएर साना–साना राज्य बने भन्ने कुराको कुनै कोणबाट पुष्टि नगरी एकीकरण भनिरहन पक्कै सकिँदैन । कतिपयले भारतवर्षमा भेटिएका कतिपय शिलालेख, महाभारत ग्रन्थमा नेपाल नाम उल्लिखित रहेको दलिल पेस गर्छन् । तर, बुझ्नुपर्ने कुरा के हो भने ‘नेपाल’ नामको भौगोलिक एकाइ हुनु र नेपाल देश हुनु पृथक कुरा हो ।

पृथ्वीनारायणले गरेको एउटा कार्य हो– गोरखा राज्यको विस्तार । सुरुवातमा विशाल रहेको नेपाल टुक्रिएर दयनीय हालतमा पुग्यो र अहिले अस्तित्वको लागि संघर्ष गर्दै छ । यो घडीमा यसलाई एकीकरण गरेर पुनर्जीवन दिनुपर्छ भन्ने नियतका साथ पृथ्वीनारायणले गोरखा राज्यको विस्तार गरेका त हुँदै होइनन् । बरु ठूलो राज्यको राजा बन्ने अभिलाषा पूरा गर्ने अभियानमा नेपालको भौगोलिक रूपरेखाको प्रारम्भिक चरणको खाका अटोमेटिक कोरिएको हो ।

पुस २७ का समर्थकहरूको अर्को तर्क छ– पृथ्वीनारायण राष्ट्रनिर्माता, त्यसैले राष्ट्रिय एकता दिवस । यो तर्क निकै हास्यास्पद लाग्छ मलाई । जब–जब म यो तर्क सुन्छु, महान् कवि बर्तोल्ट ब्रेख्तको एउटा कवितांश स्मरणीय भइहाल्छः

सात द्वारहरू भएको थिब्ज सहर बनायो कसले ?
पुस्तकमा त लेखिएको हुन्छ, राजाहरूको नाम,
के ती राजाहरूले उचालेका थिए, चट्टानका विशाल डल्लाहरू ?
र, पटक–पटक ध्वस्त पारिएको बेबिलोनलाई
कसले ठड्याएको थियो त्यति धेरैपटक ?
स्वर्णपुरी लिमाका कुन घरमा बस्थे निर्माताहरू ?
चीनको विशाल पर्खाल बनाइसकिएको साँझ
कता गएका थिए ती कर्मीहरू ?
महान् रोम भरिपूर्ण छ, विजयका तोरणद्वारहरूले
कसले बनाएका थिए ती तोरणहरू ?
कसमाथि विजय हासिल गर्यो सिजरले ?

देश निर्माण गर्ने जनताले हो, राजा–महाराजाले होइन । गोरखा राज्यको विस्तारलाई नै राष्ट्रनिर्माण भन्नु र सुन्दरी प्रतियोगितालाई नारीमुक्ति आन्दोलनको रूप मान्नु दुवै बराबरी हास्यास्पद तर्कहरू हुन् । गोरखा राज्यविस्तारलाई नै राष्ट्रनिर्माण नै हो भनेर मानिँदिदा पनि पृथ्वीनारायण राष्ट्रनिर्माता हुन् त भन्न सकिँदैन । माथिको कविताको आशयले पनि यो मान्यतालाई ठाडो इन्कार गर्छ । 

हतियार निर्माता मजदुरहरू, लडाइँ लड्ने लडाकुहरू, लडाकुहरू युद्धमोर्चामा जाँदा घर धान्ने महिलाहरू, लडाकुलाई पकाएर खुवाउने भान्छेहरूको संयुक्त प्रयत्नको प्रतिफल हो गोरखा राज्य विस्तार । पृथ्वीनारायणको चर्चा–परिचर्चाको उदिप्त घामले विसे नगर्ची पनि देख्ने आँखाहरू नराम्ररी तिलमिलाएका छन् । स्थिति यस्तो छ कि गोरखा राज्य विस्तारका लडाकु, हतियार निर्माता सबै–सबै नै पृथ्वीनारायण हुन् ! केवल पृथ्वीनारायण !

राष्ट्र भनेको देशभन्दा जटिल अवधारणा हो । ‘राष्ट्र’ भूगोल र अन्य गोचर संरचनाभन्दा पनि बढी मनोविज्ञान हो । भाषा, संस्कृति, धर्म आदिको सुन्दर अन्तर्घुलनबाट राष्ट्रको मनोविज्ञान जन्मन्छ । सभ्यताको आधुनिक अवधारणा राष्ट्र शब्दले अभिव्यक्त गर्छ । नेपालको पछिल्लो संविधानले ‘राष्ट्र’बारे भन्छ– ‘बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली समष्टिमा राष्ट्र हो । 

‘अब प्रश्न उठ्छ, पृथ्वीनारायणले कुन र कस्तो राष्ट्र निर्माण गरे ? बरु असली हिन्दुस्थान बनाउने नाममा भिन्न राष्ट्रियताको चिहान खन्दै एकल राष्ट्रियताको रुख रोप्ने प्रयास धेरथोर गरेका थिए । आजको नेपालको यो अवस्थाको जस–अपजस धेरै–थोरै उनैलाई जान्छ ।

अर्को तर्क पनि छ, एकता दिवसका हिमायतीहरूको– राष्ट्रिय एकताका साझा प्रतीक पृथ्वीनारायण शाहबाहेक अरू हुन सक्दैनन् ।

राष्ट्र शब्दमा इय प्रत्यय लागेर राष्ट्रिय शब्द बन्छ । राष्ट्र बारे माथि नै चर्चा गरिसकिएकाले पृथ्वीनारायण राष्ट्रिय एकताको साझा प्रतीक हुन र होइनन्, बन्न सक्छन् र सक्दैनन् भन्ने विषयमा बहस जरुरी नै रहेन । आफ्नो भाषामाथिको हस्तक्षेप, आफ्नो भूगोलमाथिको जबर्जस्त कब्जा, आफ्नो संस्कृतिमाथिको प्रत्यक्ष र परोक्ष अतिक्रमण । समग्रमा आफ्नोपन या स्वत्वमाथिको आक्रमणले आक्रान्त विजित भूगोलका जनताहरूको बीचमा गोर्खाली राष्ट्रियताले एकताको सूत्रमा बाँध्यो भन्ने तर्कजत्तिको कमजोर तर्क सायदै अरू होला । 

मान्छेको सबभन्दा प्रिय वस्तु हो, आफ्नोपन । यो प्रिय मनोविज्ञानमाथिको बल प्रयोगपछि उत्पन्न परिस्थितिमा बल प्रयोगकर्ताको राष्ट्रिय भावनाको प्रभावकारिता कत्तिको हुन्छ, त्यो सहजै अनुमान गर्न सकिन्छ । नेपाली राष्ट्रियता विविधताभित्र एकताको सूत्रमा मात्र कसिन सक्छ । बोली जे–जस्तो भए पनि व्यवहार पृथ्वीनारायणको त्यस्तो थिएन नै ।

पुस २७ को वकालत गर्नेहरूको अर्को विरोधाभास के देखिन्छ भने उनीहरूले उत्तम राष्ट्रियता(?) मानेको राष्ट्रियताका सूत्रधार पृथ्वीनारायणभन्दा धेरै बढी जंगबहादुर र महेन्द्र हुन् । तर, उनीहरू राष्ट्रिय एकता दिवस पुस २७ हुनुपर्ने तर्क गर्दै छन् । दोस्रो संविधानसभाको आसपासको समयाखण्डबाट नेपालमा पञ्चायती राष्ट्रवाद र पञ्चायती राष्ट्रियता चरमचुलीमा पुग्यो र हाल पनि सोही बिन्दुमा कायम छ । १० वर्षे जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलनलगायत अन्य थुप्रै जनसंघर्षको प्रतिफलस्वरूप आकार ग्रहण गर्दै गरेको नयाँ राष्ट्रियताको परिभाषा गायव भयो र बनाइयो । पञ्चायती राष्ट्रवादको प्वाँख गणतान्त्रिक चरोमा जोडिदिएर अजीवको जीव बनाइएको यो समयमा पुस २७ आफैँमा अडबांगे एजेन्डा बनेको छ ।

एक भाषा, एक भेषको अभियानलाई एकताको अभियान नाम दिए, महेन्द्रले । नेपाल भनेको नेपाली जनता, तिनको भाषा, संस्कृति, पहिचान अनि सभ्यता नभएर डाँफे, गाई, लालीगुराँस, ढाकाटोपी अनि हिमालचाहिँ हो भन्ने विचार, जुन अहिले डोमिनन्ट विचार बनेको छ, त्यसको प्रतिपादन गर्ने त महेन्द्र हुन् । पञ्चायत र राजा महेन्द्र हाल व्यवहारमा रहेको राष्ट्रियताको आधारशीला हुन् । अनि राष्ट्रिय एकता दिवस त महेन्द्रको जन्मजयन्ती वा पञ्चायतको सूत्रपात भएको दिनलाई मान्नुपर्ने मागचाहिँ जायज हुँदो हो कि ? (प्रगतिशील राष्ट्रवादीको हकमा यो भनिएको होइन ।)

देशलाई चिनाउन एउटा न एउटा राष्ट्रिय दिवस चाहिन्छ भन्ने आवाज पनि सुनिने गरेको छ । तर यो आवाज पृथ्वीनारायणको महिमामण्डनभन्दा ज्यादा परको होइन भन्न सहजै सकिन्छ । एकातिर देशको अस्तित्वको फैलावटको चिन्ता पनि गर्ने अर्कोतिर पृथ्वीनारायणभन्दा बाहिर निस्केर यस विषयमा चर्चा बहस गर्न पनि हिच्किचाउने प्रवृत्तिको भित्री आकांक्षा त्यसै प्रस्ट छँदै छ । पुस २७ बाहेक अर्को कुनै दिन पनि एउटा राष्ट्रिय दिवस मनाउन सकिन्छ भन्ने ती मान्दै मान्दैनन् ।

पृथ्वीनारायणको जन्मसिवाय पुस २७ केवल पुस २७ मात्र हो र हुनुपर्छ । मनाउन मन हुनेले मनाउन पाउनुपर्छ पृथ्वीजयन्ती । चित्त नबुझ्नेले मनाउनैपर्ने बाध्यताको सिर्जना गरिनु सर्वथा आलोच्य हुन्छ । पृथ्वीनारायणको गुण–दोषबारे छलफल गर्ने गर्न त सकिहालिन्छ, पुस २७ मै । तर, यो राष्ट्रिय दिवस हुन सक्दैन । राष्ट्रिय दिवस त नेपालभित्रका सारा नेपालीले गर्व गर्ने दिन पो हुनुपर्छ त । सुदुरपश्चिमेलीको इतिहास मेटाउने, तिरहुतको अस्तित्व नामेट गर्ने, राई किरातको सातो लिने अभियानको सूत्रपात गर्नेको जनमजयन्ती राष्ट्रिय दिवस हुन सक्दैन ।

हुन त प्रज्ञा प्रतिष्ठानमा महेन्द्रको सालिकबारे भइरहेको लफडाले पनि मेरो देशको बिपर्यास यात्राको कुटिल संकेत गरिसकेको छ । अब जरुरी छ त केवल यी दृश्यहरूको विरुद्ध नयाँ चित्रपटको तयारीको । अनेकाैँ इतिहास मेटाएर एउटा इतिहास लेखिएको सम्झनामा ‘कोलम्बस’को जन्म भएको दिनलाई राष्ट्रिय एकता दिवस मनाउनु ती मेटिएका इतिहासको सर्वनाशप्रति खुसी व्यक्त गर्नुसिवाय अरू हुन सक्दैन । विजित भूगोलका क्षतविक्षत पहिचानप्रतिको व्यंग्य गर्ने मिति पुस २७ बन्नुहुन्न । र, अन्त्यमा पुस २७ मात्र पुस २७ हो ।



यो पनि नछुटाउनुहोस्