पार्टी फुटेपछि आरोप–प्रत्यारोपमा विवेकशील र साझा

काठमाडौं– उज्ज्वल थापाकाे समूहले विवेकशील साझा पार्टी फुटाएर राजनीतिक कायरता देखाएको टिप्पणी गरेका छन्, पार्टीका संयोजन समिति सदस्य मुमाराम खनालले । पार्टीभित्र छलफल र बहस नै नगरी पार्टीका एकजना संयोजक उज्ज्वल थापाले पार्टी फुटाएको आरोप उनले लगाए । 

विवेकशील साझा पार्टीले निरन्तर भन्ने गरेको राजनीतिक संस्कार पनि भुलेर थापाले पार्टी विभाजन गरेको खनाल बताउँछन् । उनी भन्छन्, ‘हामीले ३० पुसका लागि केन्द्रीय समितिको मिटिङ बोलाएका थियाैँ, त्यो पनि नपर्खी अर्काे दल दर्ता गर्दा अहिलेसम्म उहाँले भनेको राजनीतिक संस्कार र राजनीतिक विधि देखिएन, उहाँहरूले आफ्नो कुरा राखेर गएको भए हुने थियो ।’

विवेकशीलबाट साझामा जोडिन आएका धेरै सदस्यले पार्टीलाई समय नदिएको पनि उनले खुलासा गरेका छन् । जागिर गर्ने र कलेज पढ्नेको संख्या धेरै भएकाले पनि उज्ज्वल थापानिकट सदस्यले पार्टीलाई समय नदिएको उनले बताए । 

थापा र उनीनिकट सदस्य पार्टीका बैठकमा सहभागी नभएकै कारण पार्टीको संगठन विस्तार गर्न नसकिएको आरोप पनि खनाल लगाउँछन् । उनी भन्छन्, ‘उहाँहरूको यस्तो व्यवहारले संगठन विस्तारको काम अवरुद्ध भएको थियो ।’

उज्ज्वल थापा समूह टुक्रिएर गए पनि आफूहरूसँग पार्टीको बहुमत रहेको बताउँदै उनले अबका दिनमा विवेकशील साझा ‘फुल स्पिड’मा अघि बढ्ने बताए ।आफूहरूले वैकल्पिक राजनीतिको बाटो नभुलेको बताउँदै खनाल भन्छन्, ‘वैकल्पिक राजनीतिक दल निर्माणमा कुनै कसुर बाँकी राख्दैनाैँ ।’ 

तर, उज्ज्वल थापा समूहकी नेतृ रञ्जु दर्शना भने विवेकशील र साझाको वैकल्पिक राजनीतिप्रतिको बुझाइ नै फरक भएकाले पार्टी फुटाएको बताउँछिन् । उनी भन्छिन्,  ‘हाम्रो र उहाँहरूको वैकल्पिक राजनीतिप्रतिको बुझाइ नै फरक भेट्यौँ ।’



आफूहरूको वैकल्पिक राजनीतिले सहभागितामूलक लोकतन्त्र मान्ने भए पनि मिश्र समूह भने व्यक्तिकेन्द्रित हुन खोजेको उनको आरोप थियो । पार्टी एकीकरण गर्दाका उद्देश्य र पार्टीका गतिविधिमा एकरूपता नदेखिँदा पार्टी फुटाउनुपरेको उनले बताइन् ।

विवेकशीलमा काम गर्ने इच्छा र बौद्धिक युवा भएकाले आफूहरू फुटे पनि अगाडि बढ्ने बताउँछिन्, दर्शना । विवेकशीलले अब पुरानै संरचनामा काम गर्ने पनि उनले बताइन् ।



नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको बताउँदै उज्ज्वल थापा समूहका मिलन पाण्डे पार्टी फुट्दैमा जनविश्वास नघट्ने बताउँछन् । उनी भन्छन्, ‘हामीसँगै भन्दा पनि फरक–फरक रहेर झन् राम्रो काम गर्न सक्छौँ । त्यही भएर हामीले अलग हुने प्रक्रिया अगाडि बढाएका हौँ ।’ 

पूर्वविवेकशीलका सदस्यले नयाँ पार्टी दर्ता गर्ने प्रक्रिया सुरु गरिसक्दा पनि पार्टी प्रवक्ता सूर्यराज आचार्य भने अनभिज्ञता प्रकट गर्छन् । गोरखामा पृथ्वी जयन्ती मनाउन गएका उनले आफूलाई यस विषयमा केही जानकारी नभएको बताए ।

पार्टी प्रवक्तालाई पार्टी विभाजनको जानकारी नभएको बताइरहँदा पार्टीको संयोजन समिति सदस्य निरुपमा यादव भने सबै कुरा पार्टी प्रवक्ताले नै बोल्ने बताउँछिन् । उनी पार्टी विभाजनको विषयमा आफू केही नबोल्ने भन्दै पन्छिन खोजिन् ।

विवेकशील साझाका संयोजकमध्येका एक उज्ज्वल थापाले पुस १६ गते एउटा प्रतिवेदन सार्वजनिक गरेर पार्टीभित्रको मतभेद सार्वजनिक गरेका थिए । प्रतिवेदन सार्वजनिक गरेको ११औँ दिनमा थापाले निर्वाचन आयोगमा ‘विवेकशील नेपाली दल’को नाममा नयाँ दल दर्ता गर्न निवेदन दिएका हुन् ।

गत वर्ष साउन ११ मा उज्ज्वल थापाको विवेकशील पार्टी र रवीन्द्र मिश्रको साझा पार्टी एक भएका थिए । त्यसपछि मिश्र र थापा दुवैजना पार्टी संयोजकका रूपमा थिए ।
 

  • प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार २०:२९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया