संयुक्त राष्ट्र संघ उपमहासचिव भन्छिन्– लुम्बिनी विश्व मानव जगतकै आस्था र श्रद्धाको केन्द्र

संयुक्त राष्ट्र संघका उपमहासचिव कानी विग्नराजाले लुम्बिनी विश्‍व मानव जगतकै आस्था र श्रद्धाको केन्द्र बन्दै गएको बताएकी छन् । नेपाल भ्रमणमा रहेकी यूएनडीपीका एसिया प्रशान्त क्षेत्रीय ब्यूरो निर्देशकसमेत रहेकी विग्नराजाले लुम्बिनी विश्‍व शान्तिका लागि प्रेरणास्थल रहेकाले अवलोकन गर्न आएको बताउँदै ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक रूपमा संसारकै पवित्रस्थल रहेको पनि बताइन् । 

लुम्बिनी ग्राममा पिपलको विरुवा रोप्दै उनले भनिन्, ‘यहाँबाट प्राप्त हुने ऊर्जा र पुण्य सबैको हितकारी हुन्छ ।’ उनको नेतृत्वमा आएको टोलीका सदस्यहरूले बुद्ध जन्मस्थल मायादेवी मन्दिर, पुष्करणी पोखरी र अशोक स्तम्भ अवलोकन गरी दीप प्रज्जवलनसहित प्रार्थना गरे । 

उनलाई लुम्बिनी क्षेत्र विकास कोषका सूचना अधिकारी हरिध्वज राईले कोषले गरेको काम, संरक्षणको प्रयास र गुरुयोजनाबारे जानकारी दिए । सन् २००८ मा लुम्बिनी आएका संयुक्त राष्ट्रसंघ महासचिव वानकी मुनपछि राष्ट्रसंघका पदाधिकारीको यो उच्चस्तरीय भ्रमण हो ।

संयुक्त राष्ट्र संघीय कार्यक्रम दिगो विकास लक्ष्य पूरा गर्न लुम्बिनी बौद्ध विश्‍वविद्यालय र यूएनडीपी नेपालबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

विश्‍वविद्यालयका उपकुलपति डा. हृदयरत्न बज्राचार्य र यूएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागंगोडा लाबेले हस्ताक्षर गरेका थिए ।

पाँच बर्से योजनाअन्तर्गत तीन बुँदामा समझदारी भएको हो । बृहत्तर लुम्बिनी विकास योजनाअन्तर्गतका क्षेत्रमा स्थानीय समुदायको स्वास्थ्य, शिक्षा, सामाजिक र आर्थिकस्तर उकासेर जीवनयापन सहज बनाइने उल्लेख छ । 



लुम्बिनीलाई ‘क्लिन’ र ‘ग्रिन’ बनाउन वातावरण संरक्षण गर्न विभिन्न कार्यक्रम गरिने पनि भएको छ ।   



  • प्रकाशित मिति : असार १, २०७९ बुधबार ८:५१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया