मन्त्री हेरफेरमा नेपाललाई तनाव : खोट देखाउन झाँक्रीको चुनौती, एमालेमा फर्किने मुडमा आले

मन्त्रिमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन  सहयोगी भूमिका खेल्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई तीन जना मन्त्रीले असहमति जनाएका  छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल हेरफेर गर्न दबाब दिएर शुक्रवार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति  मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असहमति प्रकट गरेका हुन् । श्रम मन्त्री कृष्णकुमार श्रेष्ठपनि मन्त्रीबाट फिर्ता हुने पार्टीको निर्णय प्रति असन्तुष्ट छन् । 

कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिइसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस्’ भन्ने प्रस्ताव गरे लगत्तै सहरी विकासमन्त्री झाँक्रीले आपत्ति जनाएकी थिइन् । 

‘हामीलाई किन हटाउनु पर्‍यो, हामीले राम्रै काम गरिरहेका छौँ,  मन्त्री झाँक्रीले भनिन्, ‘हामीले गरेका काममा खोट भए फिर्ता बोलाउने हो । यो बीचमा हामीले किन फिर्ता आउने? ’ 

उनले आफूहरुले राम्रै काम गरिरहेको समेत बताइन् ।  ‘फोहोर व्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भईरहेको छ, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ । अन्य काम पनि भइरहेका छन,’ नेपाल समक्ष मन्त्री झाँक्रीले आक्रोशित हुँदै भनिन्, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरे तुल्य बराबर हुनुभयो ।’ 

झाँक्रीले कोटेश्वरस्थित निवासमा बाहिर नै सुनिने गरी अध्यक्ष नेपालको प्रस्तावलाई अस्वीकार गर्दै चर्को स्वरमा बोल्न थालेपछि स्थिति असामान्य बनेको थियो । कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपाल र मन्त्री झाँक्रीले चर्को स्वरमा असहमति प्रकट गरेपछि स्वास्थ्य मन्त्री बिरोध खतिवडाले ढोका नै लगाएर आवाज बाहिर आउन नदिएका एक प्रत्यक्षदर्शीले बताए । स्वास्थ्य मन्त्री खतिवडा भने बैठकमा नरम भएर प्रस्तुत भएका थिए ।  



दुई जना सांसदसहित नेपालको निवास पुगेका पर्यटनमन्त्री आलेले पनि आफू मन्त्रीबाट फिर्ता हुन मानेनन् । उनले  पनि आफूहरुले राम्रैकाम गरिरहेको नेपाललाई बताएका थिए । मन्त्रीबाट फिर्ता बोलाए मा आलेले नेकपा एमालेमा नै फर्किने तयारी गरेको बताइन्छ । उनले एमाले नेता सुवासचन्द्र नेम्वाङ मार्फत अध्यक्ष केपी ओलीसँग त्यसबारेमा छलफलसमेत अघि बढाएका छन् ।

स्थायी कमिटी बैठकले गरेको निर्णय कच्चा भएको र निर्वाचनसम्म बहालवाला मन्त्रीहरुलाई नै निरन्तरता दिनु पर्ने माग राखेपछि अध्यक्ष नेपालले ‘पार्टीले निर्णय गरिसकेको’ भन्दै मन्त्रीहरुको प्रस्ताव अस्विकार गरेका थिए । 



  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १२:१८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया