निगमको बोइङ  ‘गण्डकी’ मंगलबार नेपाल ल्याइँदै

काठमाडौं– मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ भोलि मंगलबार नेपाल ल्याइने भएको छ । निगमको इन्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको थर्मल ब्ल्यांकेटमा समस्या आएको भन्दै मर्मतका लागि क्वालालम्पुर पठाएको थियो । मर्मतका क्रममा सि–डक्टमा पनि समस्या आएपछि मर्मतका लागि थप समय लागेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । 

उनका अनुसार बोइङ ल्याउन चालक दलका सदस्य (क्रु मेम्बर) आइतबार मलेसिया गएका छन् । अमेरिकाबाट सिपिङमार्फत सि–डक्ट ल्याएर जडान गर्दा फिट नभएपछि गत साता मलेसियामा पुनः अर्को सि–डक्ट ल्याएर फिट गरिएको थियो । 

‘बोइङको पूरै मर्मत भइसकेको छ, सि–डक्ट पनि परिवर्तन गर्नुपर्ने भएकाले मर्मतका लागि बढी समय लागेको हो, बोइङ भोलि नेपाल फर्किंदै छ,’ सहायक प्रवक्ता कोइरालाले भने ।  

निगमले उक्त बोइङ बिक्री गर्ने तयारी गरेको छ । बिक्री नभइन्जेल उडान गर्ने योजना बनाएको छ । जहाज बिक्रीका लागि निगमले मूल्य निर्धारण गरी कागजात मन्त्रालय पठाएको छ । वाइडबडी विमान खरिद प्रकरणको विषयले जहाज बिक्रीमा पनि कठिनाइ भएको निगमका अधिकारी बताउँछन् । 

निगमका निर्देशक रवीन्द्र श्रेष्ठले बोइङ बिक्रीका लागि मूल्य निर्धारण भइसकेको र सैद्धान्तिक सहमतिका लागि मन्त्रालय पठाइएको जानकारी दिए । वाइडबडीको विवादित विषयले अब उक्त काममा पनि व्यवधान खडा भएको उनको भनाइ छ । 

‘दुई महिनादेखि बोइङ ममर्तका लागि मलेसियामा छ । बिक्रीका लागि आर्थिक मूल्या‌‌कन भइसकेको छ । ‘भ्यालुएसन’ भइसक्यो, यो पनि ‘कन्डिसनल’ छ, सात करोड ६० लाख डलर मूल्य पुग्छ,’ निर्देशक श्रेष्ठले भने । 



सानो वायुसेवा कम्पनीले वाइडबडी, बोइङजस्ता थरीथरीका जहाज राख्दा प्राविधिक तथा व्यवस्थापकीय जटिलता हुने र सबैको अलग–अलग इन्जिनियर पाइलटको व्यवस्था गर्नुपर्ने भएकाले बोइङ बिक्री गर्न लागिएको निगमको भनाइ छ । 

बोइङको इन्जिन  ‘साइकल’ अझै बाँकी रहेका कारण मर्मत गरेर उडान गर्ने योजना निगमको छ । जहाज मर्मतका लागि करिब अढाइ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । निगमले बोइङ बिक्रीका लागि आर्थिक मूल्यांकन गर्न दुई महिनाअघि स्विट्जरल्यान्डको फिन्टेक कम्पनीलाई परामर्शदाता नियुक्त गरेको थियो । 



निगमले सन् १९८७ सेप्टेम्बर १९ तारिखमा ‘कर्णाली’ खरिद गरेको थियो भने दोस्रो बोइङ ‘गण्डकी’ सन् १९८८ सेप्टेम्बर १ तारिखमा ल्याएको थियो । कलसाइन नाइनएन एसिए ७५७ बोइङ कर्णालीलाई निगमले बिबिएयरलाई एक वर्षअघि बिक्री गरिसकेको छ । 

हाल निगमका दुईवटा न्यारोबडी र दुई वाइडबडी जहाजले भारतको नयाँ दिल्ली, बैंग्लोर, मुम्बई, मलेसिया, सिंगापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । 

  • प्रकाशित मिति : पुस ३०, २०७५ साेमबार १५:४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया