गहभरी आँसु पार्दै रामकुमारीले भनिन् - आज बोल्न सकिनँ, बाँकी कुरा कुनै दिन लिखितमै भनौँला

शहरी विकास मन्त्रालयबाट बाहिँदा रामकुमारी झाँक्री निकै भावुक बनेकी छन् । आफ्नो मन्त्रालयका उपलब्धिबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले गहभरी आँसु पार्दै पटक पटक भक्कानिइन् ।

पत्रकार सम्मेलनमा निकै उदास देखिएकी झाँक्री बोल्दाबोल्दै पटक पटक रोकिएको देखिन सकिन्थ्यो । त्यस्तै, उनले पटक पटक आँसु पुछ्दै समालिने प्रयास पनि गरेकी थिइन् । उनले आफूले मन्त्रालय समालेपछिका कामबारे बोल्ने प्रयास गर्दागर्दै असहज भएपछि बाँकी कुरा आफूले कुनै दिन लिखितमै प्रस्तुत गर्ने बताइन् ।

'मलाई बजेटबारे बोल्ने धेरै रहर थियो । हामीले धेरै काम गरेका थियौँ त्यो संसदबाट स्थापित गर्ने रहर थियो । त्‍यसैले हामीले समय मागेका थियौँ त्यही बीचमा विभिन्न अड्कलबाजी भए । आज राष्ट्रियसभामा जवाफ दिएर मेरो ढंगले म साथीहरूलाई धन्यवाद भनेर हिँड्न चाहन्थेँ….. उनी केही बेर रोकिएपछि मन्त्रालयको टिमलाई धन्यवाद भन्दै उनले थपिन्, ' अरू धेरै कुरा लिखितमै भनौँला कुनै दिन आज म एकदम कुरा गर्न सकिनँ ।' उनले आठ महिना २० दिन मन्त्रालय समालेकी थिइन् ।

शहरी विकास मन्त्रालयका निमित्त सचिव पद्मकुमार मैनालीले मन्त्रालयले मन्त्री झाँक्रीको कार्यकालमा राम्रा काम गरेको बताए । उनले झाँक्रीले राष्ट्रिय शहरी नीति निर्माणमा महत्त्वपूर्ण योगदान गरेको बताए । उनले यो अवधिमा चारवटा ऐनको मस्यौदा तयार गरेर संसदमा पेस गर्ने अवस्थामा पुगेको पनि बताए ।

'यो अवधिमा मन्त्रालयले केही नीतिगत फड्को मारेको छ । त्यसको लंगटम इम्प्‍याक्ट हुने छ । सबैभन्दा पहिला राष्ट्रिय शहरी नीति मान्य मन्त्रीज्यू आउने बित्तिकै त्‍यसको फुल ओनरसिप लिनुभयो । देशका सातै प्रदेशमा प्रदेश सम्बन्धित र नगरपालिकासँग सम्बन्धित सबै ओनरसिप बिल्डअप गर्न आफैँ लागेर अन्तिम मस्यौदाका रूपमा तयार भएको छ' उनले भने, 'दोस्रो ऐन निर्माणमा हामीसँग चा वटा ऐनको एरिया थिए । सहरी विकास ऐन, युटिलिटी करिडोर बागमती सभ्यता र सहरी पूर्वाधार विकास निगमसँग सम्बन्धित यी सबै अन्तिममा पुगेका छन् ।'





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १८:५३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया