विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्थाका लागि संशोधन प्रस्ताव दर्ता
फाइल तस्वीर

संघीय संसद सचिवालयमा विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्थाका लागि संशोधन प्रस्ताव दर्ता गरिएको छ । 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक संशोधन प्रस्ताव दर्ता गर्दै विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्थ गर्न प्रस्ताव गरेका हुन् ।

प्रस्तावित विधेयकको प्रस्तावनामै विदेशमा सम्पत्ति राख्न नपाउने भनी किटान गरिनुपर्ने सांसद सुवालको प्रस्ताव छ । ‘नेपालीको आर्थिक समानता, सामाजिक न्याय, व्यक्तित्व विकासमा समान अवसरको लागि विदेशमा सम्पत्ति राख्न नपाउने, सम्पत्तिको सिमा निर्धारण गरी सामाजिक सुरक्षा गर्नु वाञ्छनीय भएकोले’ सांसद सुवालले गरेको संशोधन प्रस्तावमा उल्लेख छ । 

नेमकिपाले संविधानमै विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्थाका लागि पहल गरेको थियो । संविधान निर्माणकै क्रममा नेमकिपाले ‘नेपाली नागरिकको सम्पत्तिको सीमांकन गरिनेछ, विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरिनेछ र जमिनमा जोत्नेको हक हुनेछ’ भन्ने संशोधन प्रस्ताव दर्ता गरेको थियो । जुन तत्कालीन संविधानसभाले बहुमतले अस्वीकृत गरेको थियो । 

संविधानमा नसमेटिए पनि नेमकिपाले यो विषयलाई निरन्तर उठाउँदै आएको छ । संविधानले विदेशमा सम्पत्ति राख्ने विषयलाई निस्तेज गरेको छैन् । संविधानको धारा २५ मा प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुने उल्लेख छ । 

संविधानमा विदेशमा सम्पत्ति राख्न पाउने वा नपाउने भनी प्रष्ट किटान नगरिएका कारण कानुन बनाएर यो विषयलाई सम्बोधन गर्न सकिने नेमकिपाका सांसद सुवालको तर्क छ ।





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १७:२४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया