कर्णालीमा धान रोप्‍न आकाशे पानीकै भर
फाइल तस्वीर

कर्णालीमा कुल दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये कुल दुई लाख १६ हजार आठ सय ८० हेक्टर जमिनमा मात्र खेती भइरहेको छ ।

खेती भइरहेको जमिनको ३१ दशमलव ५१ प्रतिशत भूभाग अर्थात् ६८ हजार तीन सय ३५ हेक्टर जमिनमा सिँचाइ सुविधा छ । बाँकी एक लाख ४८ हजार पाँच सय ४५ हेक्टर जमिनमा आकाशे पानीको भरमा खेती गरिँदै आइएको छ ।

सिँचाइ पुगेको जमिनमध्ये पनि वर्षभरी कुल ३८ हजार ३३ हेक्टर जमिनमा सिँचाइ पुग्छ । बाँकी ३० हजार तीन सय दुई हेक्टर जमिनमा आंशिक रूपमा मात्र सिँचाइ पुगेको छ ।

नेपालमा मनसुन भित्रिएसँगै प्रदेशका केही भूभागमा धान रोपाइँ सुरु हुन थालेको छ । सिँचाइ सुविधा भएका कर्णालीका खेतीयोग्य रोपाइँ सुरु भए पनि अन्य ठाउँमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ ।

सिँचाइ सुविधा नपुगेका ठाउँमा कहीँ पानीको समस्या छ, त कही पानी सिँचाइका लागि चाहिने पूर्वाधारको । जसले गर्दा कर्णालीका किसान अझै पनि धान रोप्नेबेला आकाशे पानीकै भर पर्ने गरेका छन् ।

जिल्लागत रूपमा हेर्दा सल्यानमा सबैभन्दा धेरै भूभागमा खेती गरिन्छ । सल्यानमा कुल ३८ हजार नौ सय २९ हेक्टर जमिनमा खेती गरिएको छ । रूकुम पश्चिममा २५ हजार एक सय २६, सुर्खेतमा ३७ हजार चार सय ४४, दैलेखमा ३४ हजार चार सय ९७, जाजरकोटमा १६ हजार ६ सय ९८, डोल्पामा ६ हजार पाँच सय ६०, जुम्लामा २५ हजार चार सय ३५, कालिकोटमा आठ हजार सात सय ५०, मुगुमा १८ हजार चार सय २१ र हुम्लामा कुल पाँच हजार २० हेक्टर जमिनमा खेति गरिएको भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयको तथ्यांक छ ।



मन्त्रालयका अनुसार खेती गरिएका जमिनमा सिँचाइ सुविधा पुगेको जिल्लामा सबैभन्दा बढी कालिकोट रहेको छ । कालिकोटमा खेती गरिएका जमिनमध्ये ६१.१९ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

रूकुम पश्चिमको २७.७२ प्रतिशत, सल्यानको १९, सुर्खेतको ६०.६९, दैलेखको २८.३६, जाजरकोटको ४७.५४, डोल्पाको २७.९७, जुम्लाको १२.९९, मुगुको १०.४७ र हुम्लाको २१.९९ प्रतिशत खेति गरिएका जमिनमा सिँचाइ सुविधा छ ।



कर्णालीमा धान रोपाइँ गरिने क्षेत्र मध्य २८ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । मंगलबार साँझसम्म कर्णालीमा जम्मा २८ प्रतिशतमात्र धान रोपाइँ भएको हो ।

धान रोपाइँ हुनेमध्ये १० हजार आठ सय ९२ हेक्टर क्षेत्रफल जमिनमा हालसम्म रोपाइँ सकिएको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयका अनुसार हालसम्म जुम्लामा ९८ प्रतिशत रोपाइँ सकिसकेको छ । यस क्षेत्रमा जेठ महिनादेखि नै रोपाइँ सुरु हुन्छ । झण्डै २९ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने जुम्लाका अधिकांश ठाउँमा मार्सी धान रोपिन्छ ।

धान रोपाइँ कम भएको जिल्ला भने सुर्खेत हो । यहाँ हालसम्म जम्मा पाँच प्रतिशत भुभागमा रोपाइँ सकिएको छ । यस्तै, कालिकोटमा ६०, हुम्लामा ७२, मुगुमा ३४, सल्यानमा ३०, डोल्पामा ९६ प्रतिशत रोपाइँ भएको छ ।

अघिल्लो वर्ष यही अवधिमा यी जिल्लामा ४ देखि ५ प्रतिशतभन्दा बढीका दरले रोपाइँ सम्पन्न भएका थिए । अघिल्लो वर्ष झण्डै ५० प्रतिशत रोपाइँ सम्पन्न भएको दैलेखमा यो पटक जम्मा १५ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिए ।

यसका साथै जाजरकोटमा ३८ र रुकुम पश्चिममा ४० प्रतिशत धान रोपाइँ भएको छ । अघिल्लो वर्षमा यो अवधिमा यी जिल्लामा ४५ प्रतिशतभन्दा माथि रोपाइँ सम्पन्न भएका थिए ।

  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार २०:०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया