अन्धविश्वासका कारण नौ दिनकी सुत्केरी नवजात शिशुसहित गाईगोठमा

जुम्ला जिल्लाको हिमा गाउँपालिका–५ की २६ वर्षीय मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आएकी छन् । शाही सुत्केरी भएपछि ९ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य भएकी हुन् । 

कर्णालीमा महिलाहरू महिनावारी हुँदा हालसम्म सात दिनसम्म अझै छाउगोठमा बस्नुपर्ने अवस्था कायमै रहेको समयमा सुत्केरी हुँदा पनि गोठमै बस्नुपर्ने अवस्था आएको छ । सुत्केरी हुँदा गोठमा बस्दा शिशुसँगै आमाको स्वास्थ्य निकै खतरामा रहन्छ ।
         
शाही ओछ्यानको तलतिर गोरुलाई ओछ्याएको पराल र सोत्तरमाथि शिशुसहित एक सातादेखि गोठमै दिन रात बिताइरहेकी छन् । 

अँध्यारो भित्री गोठमा झ्याल नहुनु , ढोका पनि सानो हुनु, उपयुक्त छिद्र नहुनुले आमा र शिशुलाई आगोको धुवाले अप्ठ्यारो पार्दै आएको छ । बच्चा जन्मिएको ६ हप्तालाई सुत्केरी समय भनिन्छ । 

सुत्केरी भएको अवस्थामा आमा र बच्चालाई लालन पालनमा पहिलो प्राथमिकतामा राखेर बढी हेरचाह गरिनुको साथै पोसिलो खानपान, झोलिलो पदार्थमा बढी जोड दिनु पर्ने स्वास्थ्यकर्मीको तर्क छ । तर, सुदूरपश्चिम र कर्णालीमा देवी देवता रिसाउछन् भन्ने डरले सुत्केरी भएकै समयमा सुत्केरी आमालाई स्याहार सुहार त परै जावस अतः हेलचक्र्याइँ गरिँदै आएको अवस्था उहिलेदेखि अहिलेसम्म ज्युँका त्युँ छ ।   

सुत्केरी मनसुबा आफ्ना लागि आफैँ खाना पकाउने र गोठमा नै सुत्न बाध्य छिन् । सुत्केरी भएको बेला घरभित्र बस्दा देवी देवता रिसाउँछन् । त्यसैले सुत्केरी हुँदा गोठमा बस्नु परेको हो अवस्था आएको शाहीको गुनासो छ । उनले भनिन्, ‘यस्तो बेला घरभित्रै बस्ने चाहना त हुन्छ नि ! तर, परम्परागत मान्यताले घर भित्र गएमा शुभ हुँदैन । नौ दिन पुगेपछि चोखो पानी अन्य विभित धार्मिक कार्य सम्पन्न गरेर घरभित्र जान्छु ।’

मनसुवाका श्रीमान् दिनेशबहादुर शाही सुत्केरी श्रीमती र छोरालाई भेट्न बेलाबेलामा गोठमा जान्छन् । रूढीवादी सामाजिक, कुसंस्कार, अन्धविश्वासले अडेको हाम्रो समाज नवजात शिशुसहित श्रीमतीलाई गोठमै राख्नुपरेको दुखेसो श्रीमान् दिनेशको छ । 



घरका आमा, बुबाले नमान्ने र समाजले नानाथरी कुरा काट्ने डरले बाध्य भएर गोठमा राख्नुपरेको छ । महिनावारी भएको बेला त कुरै छाडौँ सुत्केरी हुँदा श्रीमतीले छोएको पानी र खानपान अरूले खाँदैन ।

‘म यता आफ्नो बच्चा र श्रीमतीको हेरचाह गर्न आउँदा पनि घर भित्र पस्ने बेला चोखिएर जानुपर्छ यदि यो गरिन भने मलाई पनि भित्र जान दिँदैनन्,’ दिनेशले भने । जुम्लाकी मनसुबा मात्रै एक उदाहरणकी पात्र मात्र हुन् मुगु, दैलेख, सुर्खेत, कालिकोट, हुम्ला जिल्लाका सुत्केरी बाख्रा, गाई र भैँसी बाँध्ने गोठमा छाउ बस्नुपर्ने बाध्यता छन् ।



सुत्केरीले छोरा र छोरी जन्माएमा गोठमा बस्दा विभेद गरिएको छ । छोरा जन्मिए नौ र छोरी जन्मिए १२ दिन गोठमा बस्नुपर्ने बाध्यता रहेको महिला स्वास्थ्य स्वयंसेविका पञ्चकला नेपाली बताइन् । सुत्केरी र शिशुको विशेष ख्याल गर्नुपर्ने भएकाले गाईगोरु बाँध्ने गोठमा बस्न दिनुहुँदैन भन्दा नमान्ने गरेको नेपालीको भनाइ छ । परम्परागत रूपमा चल्दै आएको प्रचलन हो, यो प्रचलन लाई कसैले पनि रोक्न नसक्ने स्वयंसेविका नेपाली बताउँछिन् । 

  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार २१:२१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया