किन पाएनन् थारुले माघी मनाउन टुँडिखेल ?
थारु अगुवा भन्छन्– राज्यले हामीलाई उपेक्षा गर्यो, सेना भन्छ– थारु र मगर समुदायबीच आलोपालो गर्ने सहमति भएको हो

काठमाडाैं– उपत्यकामा २०५९ सालदेखि उत्साहसाथ माघी मनाउँदै आएका थारु समुदायलाई यसपालिको माघी खल्लो भयो । १६ वर्षदेखि माघी मनाउँदै आएको स्थान यसपटक उनीहरुले पाएनन् । 

लामो संघर्षपछि सरकारले माघीमा सार्वजनिक बिदा घोषणा गरेकै वर्ष (२०५९) देखि थारु समुदायले सैनिक मञ्च टुँडिखेलमा माघी मनाउन थालेका थिए । तर, यस वर्ष भने नेपाली सेनाले थारु समुदायलाई माघी मनाउन टुँडिखेल दिएन । 

सबै समुदायका चाड पर्व मात्रै होइन, सांगीतिक कार्यक्रमसमेत गर्न पाइने टुँडिखेल यसपटक थारुले उपयोग गर्न पाएनन् । टुँडिखेल नपाएपछि यसपटक माघी मनाउन थारुहरु चुच्चेपाटी पुगे ।

२०७२ मा भएको टीकापुर घटनादेखि थारुलाई हेर्ने सरकारी नजरिया बदलिएको ठान्छन्, थारु युवा सभाका केन्द्रीय अध्यक्ष कानुनलाल चौधरी । टीकापुरको घटनामा प्रहरी एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।

टीकापुरबाट निर्वाचित रेशम चौधरीलाई सरकारले जेलमा राख्नु र टुँडिखेलबाट माघी पर्व विस्थापित गर्नुले सरकार अझै पनि समावेशी नभएको ठहर थारु समुदायले गरेको छ ।

टुँडिखेल प्रयोगका लागि ‘फस्र्ट कम फस्र्ट सर्भिस’लाई आधार बनाएको नेपाली सेनाले यसपटक भने आफ्नो कार्यविधि नै मिच्यो । थारु समुदायले टुँडिखेलमा माघी पर्व मनाउन गत वैशाखमै निवेदन दिए पनि उसले साउनमा निवेदन दिएको मगर समुदायलाई टुँडिखेल प्रयोग गर्ने अनुमति दियो ।



थारु समुदायले मगर समुदायसँग मिलेर पर्व मनाऔँ भन्ने प्रस्ताव पनि नराखेको होइन । तर, दुई समुदाय एकैठाउँ आउँदा हुन सक्ने साम्प्रदायिक दंगा र अन्य घटनालाई मध्यनजर गर्दै सेनाले उक्त प्रस्ताव अस्वीकृत गर्यो ।

‘केही दिनअघि निर्णय हुन्थ्यो भने व्यवस्थापनमा सहज हुने थियो । सेनाबाट जस्तो किसिमको निर्णय भयो, त्यसमा हामीलाई दुःख छ,’ मगर समुदायले साउनमा मात्रै निवेदन दिएको बताउँदै अध्यक्ष चौधरी भन्छन्, ‘आफ्नो कार्यविधि आफैँले पालना नगरे आगामी दिनमा गाह्रो पर्न सक्छ ।’ 



यता, थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले पनि सेनाले थारु समुदायको हकमा मात्र कार्यविधि उल्लंघन गरी निर्णय गरेको गुनासो गरे ।  

‘सेनाको नियमअनुसार फस्र्ट कम फस्र्ट सर्भिस नियम छ, सोअनुसार स्वतः हामीले पाउँछौँ भन्ने आस थियो,’ उनले भने, ‘तर हाम्रो सन्दर्भमा त्यो लागू भएन, सेनाले पनि उतै निर्णय स्वीकृत गर्यो ।’ यस्तो क्रियाकलापबाट थारु समुदायलाई राज्यले उपेक्षा गरेको उनको ठहर छ । 

यता, सेनाले भने दुवै समुदायको इच्छाअनुसार नै आफूले निर्णय गरेको दाबी गरेको छ । नेपाली सेनाका सूचना अधिकारी यम ढकालका अनुसार दुवै पक्षको सम्झौता भएर नै सेनाले निर्णय गरेको हो । यस विषयमा कुनै विवाद छैन । 

‘दुवै पक्ष निर्णयमा सहमत छन्, त्यसैले हामीले केही भन्न मिल्दैन,’ ढकालल भन्छन्, ‘कार्यविधि त जनतालाई सहज होस् भनेर बनाएका हौँ, आगामी दिनमा पनि उहाँहरुबीच आलोपालो प्रणालीमा पर्व मनाउने सम्झौता भएको छ ।’ 

यद्यपि, थारु समुदायले देशैभर छरिएर रहेका थारुलाई एकत्रित गरी माघी महोत्सव मनाएको छ । मेलामा थारु खानाका परिकारदेखि थारु संस्कृति झल्किने वेषभूषासम्म प्रदर्शनमा राखिएका थिए । 

  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार १८:४०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया