चीनमा पक्राउ परेका आफ्ना नागरिकलाई माफी दिन क्यानडाको आग्रह

मन्ट्रियल– क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानडाली नागरिकलाई माफी दिन बेइजिङसमक्ष आग्रह गरेको छ । क्यानडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानडाबीच कूटनीतिक विवाद चुलिएको छ ।

क्यानाडाले चीनमा आफ्ना नागरिकमाथि विनाकसुर, एकपक्षीय कानुनी कारबाही गरेको आरोप लगाएको छ । चीन भ्रमण गर्नुअघि सावधानी अपनाउन पनि क्यानडाले आफ्ना नागरिकलाई अनुरोध गरेको छ । 

चीनको एक अदालतले यसअघि दिइएको १५ वर्षको जेल सजाय वृद्धि गरी गत सोमबार ३६ वर्षीय रोबर्ट लोयड सेलेन्बर्गलाई मृत्युदण्डको सजाय सुनाएको थियो । 

गत वर्षको डिसेम्बरमा चिनियाँ टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वान्झाओलाई अमेरिकी अनुरोधमा क्यानडाले पक्राउ गरेपछि दुवै देशबीचको सम्बन्धमा तिक्तता आएको छ । 

‘हामीले क्यानडास्थित चिनियाँ राजदूतसमक्ष यसबारेमा कुरा राखिसकेका छौं र हामीले क्यानडेली नागरिकलाई माफी दिन आग्रह गरेका छौं,’ क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले बताइन् । 

विदेशमन्त्री फ्रिल्यान्डले क्यानडाले मृत्युदण्डको सजाय लामो समयदेखि नदिएको पनि स्मरणसमेत गरिन् । 



‘हाम्रो विश्वास छ यो अमानवीय र अनुपयुक्त हो र कुनै पनि क्यानडेली नागरिकका हकमा यस्तो सजाय भए हामी विरोध गर्दछौं,’ उनले भनिन् । 

हुवावेको विवादसँगै चीनले अरू दुईजना क्यानडेली नागरिकलाई राष्ट्रिय सुरक्षामा खतरा पु¥याएको भन्दै चीनमा पक्राउ गरिएको छ । 



ह्युमन राइट्स वाचका कार्यकारी निर्देशक केन्नेथ रथले चीनले ‘शरीर बन्धक राजनीति’ गर्न थालेको आरोप लगाएका छन् । चीनमा हरेक वर्ष एक वा दुईजना विदेशीले मृत्युदण्डको सजाय पाउने गरेका छन् । 
 

  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १३:३१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया