नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले देश बेचेर खाने पार्टीलाई भोट हाल्नै नदिने चेतावनी दिएका छन् ।
एमसीसीमा राष्ट्रघात गर्ने दललाई आवश्यक परे नेपाली सेनासँग मिलेर भए पनि १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्नै नदिने उनको जिकिर थियो ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले देश बेचेर खानेहरूलाई नेपाली जनताले भोट हालेर अधिकार दिन नहुने बताए ।
आफ्ना केही पुराना साथीले राजासँग नेपाली सेनालाई मिलाएर आफूहरुले अरु पार्टीलाई प्रतिबन्ध लगाउने खोजेको भनाई आएको उल्लेख गर्दै महासचिव विप्लवले देश बेचेर खाने दलाललाई किन प्रतिबन्ध नलगाउने भनी प्रश्न गरे ।
'देश बेचेर खाने मान्छेहरूलाई भोट हाल्न दिनुहुँदैन । नेपालमा उनीहरूलाई १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्न दिनुहुँदैन । पहिलापहिला फटाहा वकिललाई १० वर्ष लेख्नै नपाउने बनाएजस्तै गरिदिनु पर्छ,' उनले भने ।
महासचिव विप्लवले देश बेच्नेहरूलाई नेपाल प्रहरी र नेपाली सेनाले पनि साथ दिन नहुने बताए । उनले एमसिसी र एसपीपी सम्झौता आफ्नो पार्टीलाई कुनै पनि हालतमा स्वीकार्य नहुने दोहोर्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।