माओवादी केन्द्रीय समिति बैठक : को बन्दै छ वरिष्ठ उपाध्यक्ष र महासचिव ?

नेकपा माओवादी केन्द्रको महासचिव पद कसलाई दिने भन्ने विषय अझै टुङ्गो लागेको छैन । जनार्दन शर्मा र वर्षमान पुनमध्ये एक जना महासचिव बन्ने पक्का भए पनि दुवै जनाले अडान नछोडेपछि अध्यक्ष प्रचण्ड गृहकार्यमा छन् । 

एक जना केन्द्रीय सदस्यका अनुसार महासचिव एक समय शर्मालाई दिने सम्भावना बढेर गएको थियो । अध्यक्ष प्रचण्डको प्रिय पात्र पुन भए पनि अर्थमन्त्रीबाट राजीनामा दिन लगाएकाले शर्माले कुनै पनि हालतमा महासचिव पद नछोड्ने बताएको ती केन्द्रीय सदस्यले जानकारी दिए । 

तर, अर्का नेताले भने पुनलाई नै महासचिव बनाउने तयारी भइरहेको दाबी गरे । शर्मामाथिको संसदीय छानबिन प्रतिवेदनले दोषी नदेखाउने विश्वास गरेर पुनः उनै शर्मा अर्थ मन्त्रालयमा फर्किने भएकाले महासचिव पद वर्षमानलाई दिने पक्का जस्तै भएको ती नेताले बताए । 

नाम नबताउने शर्तमा ती सदस्यले शक्ति बस्नेत, हरिबोल गजुरेल र पम्फा भुसालले पनि महासचिव पद चाहेको भए पनि शर्मा नै प्रबल सम्भावना रहेको स्पष्ट पारे ।

संरचनामा ७ जना उपाध्यक्ष, तीन जना सचिव र एक जना कोषाध्यक्ष बनाउने भनिएको छ । महासचिव बन्ने आकांक्षा राखेका अन्य नेतालाई उपाध्यक्षमा मिलाउने प्रचण्डको तयारी छ । नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष दिने तयारी भएको छ । 

उपाध्यक्षमा नअटाएका नेतालाई सचिव बनाउने तयारी भइरहेको छ । त्यसैगरी उपसचिव पदमा पनि समेटिने छन् । उपसचिव दुई जनालाई बनाउने भनिएको छ । पदाधिकारीको कूल संख्या १५ रहने छ । 



तर, पदाधिकारीमा विवाद धेरै बढ्यो भने स्थायी कमिटि, पोलिटब्युरो र कार्यालय (सचिवालय) मात्रै गठन गर्ने विकल्प प्रचण्डले सोचेको ती केन्द्रीय सदस्यले बताए । 

माओवादीको केन्द्रिय समिति बैठक आइतबार सुरु भएको थियो । सोमबार पनि बैठक बस्यो । त्यसपछि मंगलबार र बुधबार बैठक स्थगित गरिएको थियो । 



महासचिवलगायत पदाधिकारी कस-कसलाई बनाउने भन्ने सहमति खोज्नका लागि बैठक स्थगित गरेर प्रचण्ड गृहकार्यमा जुटेका थिए । 

तर, यही समयमा अर्थमन्त्री शर्मा विवादमा परेपछि गृहकार्य प्रभावकारी बन्न सकेको थिएन । 

  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १३:५१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया