सत्तारुढ नेपाली कांग्रेसको शेखर कोइराला पक्षले भोलि (सोमबार) बाट सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ ।
आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा केन्द्रीय समिति बैठक गर्ने विषयमा छलफल गरिएको नेता चन्द्र भण्डारीले जानकारी दिए । कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ ।
त्यसैगरी पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रुपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको आक्रोश छ । स्थानीय तह निर्वाचनको समेत समीक्षा गरी आगामी प्रदेशसभा र संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाइदा हुने गरी गठबन्धनलाई बृहत्त बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले बताए ।
उनले भने, ‘पार्टीलाई विधिवत तरिकाले चलाउने कुरामा पनि केन्दीय समिति बैठकमा छलफल गर्ने, कांग्रेसलाई कसरी मजदुत बनाउने, आगामी चुनावमा कांग्रेस कसरी जाने र गठबन्धनका बारेमा पनि अझ बृहत्तर रूपमा पार्टीलाई फाइदा पुग्ने तरिकाले छलफल गर्ने भन्ने विषयमा कुरा भयो । पार्टीको भ्रातृ संस्थादेखि विभागसम्मको गठनको कामलाई समयमै गर्नुपर्छ भन्ने विषयमा पनि छलफल हुन्छ ।’
बैठकमा कोइराला पक्षले पार्टीको भ्रातृ संस्था सबैको पुनर्गठन गर्न र विभागलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दबाव दिने निर्णय गरेको छ । पार्टीको भ्रातृ संस्था र विभागलाई विधिवत रुपमा अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने विषयमा पनि आफूहरूबीच छलफल भएको नेता भण्डारीले बताए ।
बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायतको सहभागिता रहेको थियो । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई एकलौटी रुपमा अघि बढाएको नेता कोइराला पक्षको आरोप छ ।
पार्टीको विधानअनुसार विभागसमेत गठन गर्न नसकेको भन्दै सो पक्षले सभापति देउवाको सार्वजनिक रुपमै आलोचना गर्दै आएको छ । नेपाली काँग्रेस केन्द्रिय समितिको बैठक भोली दिउँसो १ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।