पुर्चौडी क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप, गुपचुप मिलाउने प्रहरीको प्रयास (पीडित र उनका श्रीमानको बयान)
फाइल तस्वीर

बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीमाथि एक मजदुर महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । क्याम्पस प्रमुख राजेन्द्र नेगीले पानी माग्ने वहाना बनाएर ती महिला मजदुरलाई बलात्कार गरेको आरोप लागेको हो ।

२० असारमा क्याम्पस प्रमुख नेगीले मजदुर महिलालाई बलात्कार गरेको बताइए पनि अहिलेसम्म प्रहरी यो घटनाबारे अनभिज्ञ रहेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ताले यसबारेमा कुनै पनि जानकारी नभएको बताए ।

चौधरी समुदायकी ती महिलाले पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख नेगीले राति २ बजे जबरजस्ती करणी गरेको बताएकी छन् । क्याम्पस प्रमुख नेगीले २० असारमा राति पानी माग्ने बहानामा मुख थुनेर आफूमाथि बलात्कार गरेको ती महिलाको आरोप छ ।

अहिले ती मजदुर महिलालाई श्रीमानले समेत छोडेका छन् । ती महिला कैलालीमा आफ्नो माइतीघरमा बसिरहेकी छिन् । हामीले पीडित महिलासँग कुरा गर्दा उनी निकै विक्षिप्त अवस्थामा थिइन् । मधुरो स्वरमा कुरा गर्दै आफू अलपत्र अवस्थामा रहेको उनले बताइन् । २२ असारमा बैतडीबाट फर्किएर माइतीघरमै बस्दै आएको उनको भनाइ छ ।

उनी भन्छिन्, 'पीडकले मलाई ज्यान मार्ने धम्की दिए । त्यहाँका प्रहरीले केही सहयोग गरेनन् । जिल्ला प्रहरीमा जान्छु भन्दा तेरो परिवारलाई समेत मार्छु भने । रुकुमको जस्तो घटना घटाइदिन्छु भने । त्यसपछि केही गर्न सकिनँ, म फर्केर कैलाली आएँ । मेरो श्रीमानसमेत अहिले सम्पर्कमा छैनन् ।’

क्याम्पस प्रमुख नेगीलाई कानुनी कारबाही भए आफूले श्रीमतीलाई समाल्ने ती पीडित महिलाका श्रीमान सुखीराम चौधरी (नाम परिवर्तित)को भनाइ छ । पीडित महिलाका श्रीमानले आफू अबेर राति डडेलधुराबाट डेरामा पुग्दा आरोपित क्याम्पस प्रमुखले जबरजस्ती करणी गर्दै गरेको अवस्थामा भेटाएको पनि बताएका छन् ।



पीडित महिला र उनका श्रीमान् पुर्चौडीमा डेरा गरी बस्दै आएका थिए । कैलाली घर भएकी ती महिलाले पुर्चौडी नगरपालिका-१ स्थित इलाका प्रहरी चौकी पुरघाटको भवन निर्माणमा दैनिक ज्यालादारी काम गर्दै आएकी थिइन् ।

पीडित महिलाका श्रीमान् र सञ्चारकर्मीबीच भएको अडियोको सम्पादित अंश यस्तो छः



प्रश्नकर्ता : कहाँ हुनुहुन्छ हजुर तपाईं ?

चौधरीः म बैतडी छु हजुर । 

प्रश्नकर्ता : म एउटा एफएमबाट बोल्दैछु । तपाईंको केस थियो नि त्यो के भइराछ ?

चौधरीः उनले हामीलाई डर धम्की देखाए । मास्टरलाई मैले मेरो श्रीमतीसँग देखेकै हुँ । प्रहरीको मिलेमतो भइसक्यो । बिहान ६ बजेदेखि १० बजेसम्म धम्की दिए । यदी शिक्षकलाई कारबाही भएको भए मैले श्रीमतीलाई स्वीकार्न सक्थेँ । तर, शिक्षकलाई कारबाही भएन, मैले पनि छोडेर आएँ ।

प्रश्नकर्ताः तपाईंले कुन ठाउँमा फेला पार्नु भयो ?

चौधरी : राति २ बजे १५ मिनेटमा मैले राजेन्द्र नेगीलाई पक्राउ गरेको हुँ । हाम्रै कोठामा रंगेहात फेला परेको हुँ । हामी त्यहाँ डेरा गरेर बस्थ्यौँ । उसको (आरोपित) पनि डेरा नजिकै थियो । मलाई डर धम्की दिइयो ।  प्रहरीले पनि धम्की दियो । उल्टै फस्छौ भनेर मेरो श्रीमतीलाई प्रहरीलाई धम्क्यायो ।  प्रहरीकै मिलेमतोमा राजेन्द्र नेगीलाई संरक्षण गरिएको छ । यता कैलाली आएर मेरो श्रीमतीले भन्छे, मलाई धम्की दियो । मेरो जिन्दगी बिगारेकै हो ।

यता, पीडित महिलाले श्रीमान् काम विशेषले डडेल्धुरा गएका बेला क्याम्पस प्रमुख ढोकामा आएर पानी माग्न थालेको र दिएको पानी पिएर भित्रै पसेर ढोका बन्द गरेर मुख थुनेर जबरजस्ती करणी गरेको बताइन् ।

पीडित महिला र सञ्चारकर्मीबीच भएको अडियोको सम्पादित अंश यस्तो छः

पीडित महिलाः ......त्यसले बैनी पानी ल्याउ भन्यो । त्यसपछि मलाई च्याप्प समातेर बलात्कार गर्यो । त्यसपछि मेरो बुढा आएर मलाई बचायो ।

प्रश्नकर्ता : तपाईंलाई बलात्कार प्रयास गरेको हो कि बलात्कार नै गरेको हो?

पीडित महिलाः बलात्कारनै गरेको हो, सर ।

प्रश्नकर्ताः तपाईंलाई पहिलो पटक गरेको हो कि पहिले पनि गरिराख्थ्यो?

पीडित महिलाः पहिलो पटक गरेको हो, सर ।

प्रश्नकर्ता : तपाईंले बलात्कृत हुँदाहुँदै किन उजुरी दिनुभएन ?

पीडित महिलाः मलाई धम्की दियो । प्रहरीमा उजुरी दिए तेरो परिवारलाई मारिदिन्छु भनेर धम्की दियो ।

प्रश्नकर्ताः तपाईं अहिले माइतीमा आएर बसिराख्नु भएको छ । श्रीमानले छोडेको छ । दुइटा छोराहरू छ । अब तपाईंले मुद्दा हाल्नुहुन्छ कि के गर्नुहुन्छ ?

पीडित महिलाः म मुद्दा हाल्छु सर । मलाई न्याय दिनुस् । मलाई पानी माग्यो सर । पानी दिएँ । त्यसपछि मलाई समात्यो र बलात्कार गर्यो । मैले केही गर्न सकिनँ, सर ।

सोही घटनाबारे अनेरास्ववियु क्रान्तिकारी र अखिल (क्रान्तिकारी) ले पीडक भनिएका क्याम्पस प्रमुख पक्ष र पीडित महिलाको विपक्षमा विज्ञप्ति जारी गर्दै हिलोलाई विज्ञप्तिले पुछ्न खोजेका छन् ।

घटना सार्वजनिक भएपछि क्याम्पस प्रमुख नेगीले पीडित महिलाका पतिलाई धम्क्याउने तथा आर्थिक प्रलोभन देखाएर घटना दबाव दिने गरेको खुलेको छ । आरोपित क्याम्पस प्रमुख नेकपा माओवादी केन्द्रनिकट भएका कारण पनि घटनालाई राजनीतिकरण गर्दै दबाउन खोजिएको जानकार एक सञ्चारकर्मीले बताए । उनी भन्छन्, 'क्याम्पस प्रमुख नेकपा माओवादीनिकट छन् जसले गर्दा प्र. नेगीको पक्षमा लागेर प्रहरी समेतले धम्क्याएको पीडित परिवारका सदस्यले गुनासो गरे ।'

उक्त विषयलाई लिएर क्याम्पसका विद्यार्थी संगठन पनि दुई पक्षमा विभाजित भएका छन् । एक पक्षले क्याम्पस प्रमुख जस्तो गरिमामय पदमा रही लज्जास्पद व्यवहार गरेको भन्दै नेगीले तत्काल राजीनामा दिएर पीडित महिलासँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेको छ भने अर्को पक्षले नेगीको बचाउ गरेको छ ।

अनेरास्ववियू, नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ति जारी गरेर नेगीको राजीनामा माग गरेका छन् । अटेर गरे कारबाही गर्ने उनीहरूको चेतावनी छ । तर, अनेरास्ववियु क्रान्तिकारी र अखिल क्रान्तिकारी नेगीको बचाउमा लागेका छन् ।

अडियो कुराकानी


  • प्रकाशित मिति : असार २६, २०७९ आइतबार २०:५१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया