एउटै व्यापारिक घरनाले बैंकिङ कर्जा सुविधा लिँदा अर्थतन्त्रमा जोखिम : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षमा पनि मूल्यवृद्धि लक्ष्यभन्दा माथि नै हुने बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीति सम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले चालू आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएको भएपनि अन्तर्राष्ट्रिय बजारमा समेत मूल्यवृद्धि अत्याधिक रूपमा बढेकाले लक्ष्यभन्दा बाहिर जाने अवस्था रहेको बताए ।

‘मूल्यवृद्धि हामीले आशा गरेको भन्दा माथि नै जाने सम्भावना छ । आगामी वर्षमा पनि दबाबमूलक नै देखिन्छ । पछिल्लो समय रुस र युक्रेनबीचको युद्धले सप्लाई चेनमा ठूलो असर पारेको छ । इन्धनको मूल्य धेरै बढेको कारण अन्य वस्तुको मूल्य बढेको छ । आगामी वर्ष पनि अहिले मूल्यवृद्धि भएजस्तै कायम रहने देखिन्छ,’ उनले भने, ‘विश्वका अन्य देशका केन्द्रीय बैंकहरूले त्यही अनुसारका मौद्रिक नीतिहरू लिइरहेको पाउँछौँ । त्यसमा मूल्य वृद्धिलाई कम गर्न ब्याजदर बढाउने,पोलिसीहरू बनाउने र मूल्यलाई नियन्त्रण गर्ने अधिकांश मुलुकहरूले लिइरहेका छन् । कोभिडको बेलामा ल्याएका राहतका प्याकेजहरू ल्याएका थिए ।’

गभर्नर अधिकारीले विश्वका अधिकांश मुलुकका केन्द्रीय बैंकहरूले मूल्यवृद्धि नियन्त्रण गर्ने मौद्रिक नीति ल्याएकाले नेपालले पनि त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले चालू आर्थिक वर्षमा मूल्यवृद्धि सीमा भित्र राख्न कठिन रहेको बताए । गभर्नर अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्न बैंकको ब्याजदर बढाउने तथा कोभिडको समयमा दिएका सहुलियत हटाउँदै लैजाने नीति ठूला र विकसित अर्थतन्त्र भएका मुलुकले गरेकाले नेपालले पनि त्यसमा ध्यान दिनुपर्ने देखिएको बताए । 

‘नेपाललाई पनि मूल्यवृद्धिमा चाप परेको छ । इन्धनको मूल्य ८० प्रतिशतले बढेको देखिन्छ । त्यसको असरमा समग्र मूल्य स्थितिमा चाप परेको छ । वैशाख मसान्तसम्ममा ७.८७ प्रतिशत मूल्यवृद्धि रहेको छ । अहिलेसम्मको अवस्था तल झर्ने देखिएको छैन,’ गर्भनर अधिकारीले भने ।

उनले  बाह्य क्षेत्र चापको कारणले मुलुकको विदेशी मुद्रा सञ्चिति घट्दै गएको बताए । गर्भनर अधिकारीले यो वर्ष ठूलो रकम आयातमा खर्च हुँदा १० महिनाको अवधिमा २.४७ अर्ब डलरले कमि आएको बताए । 



गभर्नर अधिकारीले ९.२८ अर्बको विदेशी मुद्रा सञ्चिति रहेको र त्यसले साढे ६ महिनाको वस्तु तथा सेवा दुवै धान्नसक्ने अवस्था रहेको बताए । उनले आयात धान्ने ठूलो सहयोग रेमिट्यान्सको भए पनि पछिल्लो समय रेमिट्यान्स समेत कम हुँदै गएको बताए । 

गर्भनर अधिकारीले चालू आर्थिक वर्षको १० महिनामा ८ सय ११ अर्ब ७९ करोड रेमिट्यान्स आएको बताए । उनले  वैदेशिक अनुदानमा कमी र आयातमा वृद्धि हुँदै गएको तर रेमिट्यान्स ठोस सुधार नभएको कारण सोधानान्तर चापमा परेको बताए ।  



विभिन्न चापको कारण मुलुकको विदेशी मुद्रा सञ्चिति निकै घटेर गएको छ । धेरै वर्षदेखि जम्मा गर्दै गएको विदेशी मुद्रा सञ्चिति यो वर्ष आयातमा ठूलो रकम खर्च भएको छ । २.४७ अर्ब डलरले १० महिनाको अवधिमा कमि आएको छ । अहिले ९.२८ अर्बको विदेशी मुद्रा सञ्चिति रहेको छ । यो सञ्चितिले साढे ६ महिनाको वस्तु तथा सेवा दुवै धान्न सक्ने अवस्था रहेको छ । अन्तर्राष्ट्रिय रूपमा हेर्दा यो राम्रो फिगर हो,’ उनले भने । 

गभर्नर अधिकारीले मुलुकमा एउटै व्यापारिक घरनाले बैंकिङ कर्जा सुविधा लिँदा अर्थतन्त्रमा जोखिम बढेको बताए । उनले एउटै व्यापारिक घरनाले बैंकिङ कर्जा सुविधा धेरै लिने र घरेलु तथा साना उद्योगहरूले उद्यम क्षेत्रले नपाउने विषयमा राष्ट्र बैंकले सम्बोधन गर्दै आएको बताए ।  

  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार १५:७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया