मुक्त कमैयालगायतको समस्या दिगो समाधान गर्न प्रतिबद्ध छौँ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मुक्त हलिया, मुक्त कमैया, कमलरी र हरुवाचरुवाको समस्यालाई दिगो रुपमा समाधान गर्न मन्त्रालय प्रतिबद्ध भएर लागेको दाबी गरेकी छिन् । 

मुक्त हलिया, मुक्त कमैया, कमलरी र हरुवाचरुवाको समस्या समाधानका लागि आज भएको सरोकारवाला मन्त्रालय र निकायहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले सो समस्या समाधानका लागि कार्ययोजना नै बनाएर अघि बढ्ने तयारी भइरहेको बताइन् । 

मन्त्री श्रेष्ठले मन्त्रालयले विषयगत समितिको बैठकमा समेत मुक्त हलिया, मुक्त कमैया, कमलरी र हरुवाचरुवाको समस्या समाधानका विषयमा छलफल गरेर तीनै तहमा समन्वयका लागि पहल सुरु गरिसकेको भन्दै केन्द्रीय तहमा सरोकारवाला मन्त्रालयसँगको छलफल अघि बढाइएको बताइन् । 

हलिया र कमैया कमलरी मुक्त भइसकेको र कमैया श्रम (निषेध गर्ने) ऐन कार्यान्वयनमा रहेको अवस्थामा यसको प्रभावकरी कार्यान्वयन गरेर हरुवा चरुवाको समस्या समाधान गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिइन् । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत यस विषयलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । 

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, मुक्त हलिया, मुक्त कमैया, कमलरी र हरुवाचरुवाको अध्ययन समितिका पदाधिकारी र प्रतिनिधिको उपस्थिति थियो ।
 





  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १७:५६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया