‘एम फर’ महाप्रसाद अधिकारी ? राजीनामाको माग बढ्दै

नेकपा एमालेको आधिकारिक वेबसाइटमा अर्थ तथा योजना विभागको प्रमुखमा घनश्याम भुसाल र सचिवमा सचिव योगेन्द्रबहादुर शाही छन् । यही विभागका नौ जना सदस्यमध्ये एकजना एम अधिकारी भन्ने नाम उल्लेख गरिएको छ । 

उनको ठेगाना खोटाङ राखिएको छ । एमालेको आधिकारिक वेबसाइटमा एम अधिकारी भनेर कोड गरिएका व्यक्ति वर्तमान गर्भनर महाप्रसाद अधिकारी नै भएको केही तथ्यहरूले पुष्टि गर्छ । गभर्नर अधिकारी खोटाङको खोटेहाङ गाउँपालिकाको सिमपानीका स्थायी बासिन्दा हुन् । एमालेनिकट एकजना नेताले भने, ‘एम अधिकारी नाम गरेका अन्य उच्च पदस्थ व्यक्ति अरू कोही होइनन् । पार्टीको अर्थ समितिमा गभर्नर अधिकारीलाई नै सदस्य राखिएको हो । उनको पूरा नाम राख्न नमिल्ने भएकोले एम अधिकारी भनेर राखिएको हो ।’

एमाले नेता विशाल भट्टराईको सिफारिसमा गभर्नर अधिकारीलाई उक्त विभागको सदस्यमा राखिएको एमाले स्रोत बताउँछ । राष्ट्र बैंकका गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उनको सर्वत्र आलोचनासमेत भइरहेको छ । धेरैले उनको राजीनामासमेत माग गरेका छन् । साथै, केही संस्था र व्यक्तिहरूले राजीनामाको माग गर्दै प्रदर्शन गर्ने तयारीसमेत गरेका छन् । 

राष्ट्र बैंक आफैंमा स्वायत्त निकाय हो । त्यसमाथि केन्द्रीय बैंकको गभर्नरजस्तो उच्च पदमा बसेका व्यक्ति कुनै पार्टी वा संगठनको एउटा विभागको सदस्य भएसँगै अधिकारीको चर्को आलोचना र विरोध हुन थालेको छ । त्यसो त कानुनले कुनै पनि स्वायत्त र सरकारी निकायका सामान्यदेखि उच्च पदमा रहेकै अवस्थामा कसैलाई पार्टीमा संलग्न हुन नपाउने व्यवस्था छ । 

राष्ट्र बैंक ऐन २०५८ ले गभर्नर वा बैंकका कुनै पनि पदाधिकारीलाई कुनै राजनीति दलको कार्यकर्ता तथा पदाधिकारी बन्नबाट बर्जित गरेको छ । राष्ट्र बैंक ऐन, २०५८ को धारा २१ को (क) मा बैंक सञ्चालकको योग्यताबारे भनेको छ, ‘राष्ट्र बैंकका सञ्चालक, गभर्नर वा डेपुटी गभर्नर कुनै पनि पार्टीको सदस्य, पदाधिकारी वा कार्यकर्ता बन्न पाउँदैन ।’ 



जसअनुसार अहिलेका गभर्नर अधिकारी राष्ट्र बैंकको गभर्नर बन्न नै पाउँदैनन् । घटनाक्रम हेर्दा उनको नियुक्ति नै ‘गैरकानुनी’ देखिएको छ । किनकी उनी गभर्नर हुँदा पनि एमालेको सोही विभागमा थिए भन्ने तथ्य पुष्टि भएको छ । 

आलोचकहरूले गर्भनर अधिकारी एमालेको ‘फुल टाइम’ कार्यकर्ता भएको भन्दै राजीनामा माग गरेका छन् । एमालेको कार्यकर्ता भएको नाङ्गो तथ्य उजागर भइसकेपछि नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्ने आवाज उठ्न थालेका छन् । एमाले स्वयमले गर्भनर अधिकारीमाथि छानबिन र कारबाही गर्नुपर्छ भन्ने धारणा आलोचकहरूको छ । 



नेकपा (एस) निकट एक नेता भन्छन्, ‘अर्थमन्त्री जनार्दन शर्मामाथि कार्वाही हुनुपर्ने भन्दै एमालेले आन्दोलन गरेको थियो । अब गर्भनरमाथि छानविन हुनुपर्छ भनेर एमालेले आन्दोलन गर्नु पर्छ कि पर्दैन? गभर्नरको गतिविधि विगतदेखि नै शंकास्पद छ । उनी राष्ट्र बैंकको गभर्नर भए पनि विगतदेखि नै एमाले पार्टीप्रति बफादार र सरकार र अर्थमन्त्री । अर्थ मन्त्रालयप्रति अनुत्तरदायी देखिँदै आएका छन् । कुनै पनि पार्टीको हनुमानलाई बैंक, अदालत आदिको नेतृत्व दिँदासम्म देशमा  पारदर्शिता हुँदैन, देश बन्दैन । पार्टी सदस्य महाप्रसाद अधिकारीले तुरुन्तै राजीनामा दिनुपर्छ । छानबिनमा दोषी देखिए कारबाही गर्नुपर्छ ।’ 

 

यद्यपि गर्भनर अधिकारीले ट्विटरमार्फत आफू पार्टीको विभागमा नरहेको प्रष्टिकरण दिएका छन् । ‘म कतै कुनै पार्टी राजनीतिमा नरहेको ब्यहोरा जानकारी गराउन चाहान्छु । यसर्थ त्यहाँ उल्लेख गरिएको ब्यक्ति म हुने कुरै भएन,’ उनले ट्विटरमा भनेका छन् । 


  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार ९:४५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया