रसुवागढी हाइड्रोपावरको आईपीओमा माग अनुसारको आवेदन नपरेपछि समय थपियो

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार १३ गतेदेखि निष्कासन गरेको आईपीओमा माग अनुसारको आवेदन नपरेपछि समय थप गरिएको छ । कम्पनीले असार १३ गतेदेखि २७ गतेसम्मको समय सीमा राखेर आईपीओ निष्कासन गरेको थियो । सो अवधिमा माग अनुसारको आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गर्न सकिने व्यवस्था थियो ।  

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासीका लागि ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीका अनुसार सोमबार साँझसम्म ११ हजार ७४१ आवेदकले २३ लाख ३ हजार ८६० कित्ताको लागि आवेदन दिएका छन् । आवेदकबाट २३ करोड ३ लाख ८६ हजार रुपैयाँ संकलन भएको छ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने छ ।

यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरिरहेको छ । कम्पनीले गोसाईंकुण्ड गाउँपालिका–१ थुमन र वडा नम्बर २ टिमुरेलाई अति प्रभावित, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ, वडा नम्बर ५ चिलिमे, गोसाईंकुण्ड गाउँपालिका–४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ । 

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ । कम्पनीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसको ८३ प्रतिशत काम सकिएको छ । 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार १३:०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया