ठमेलमा थांकाको व्यापार घट्दै

काठमाडौं– थांका अर्थात् पौवाचित्र लेखन एक मौलिक कला हो । बौद्ध दर्शनमा आधारित एक विशिष्ट कला थांका सामान्य चित्र लेखनभन्दा फरक हुन्छ । यसलाई बनाउन काठमा सुती कपडा कसेर त्यसमा सपेता र सरेस पोतिने गरिन्छ । सपेता र सरेस सुकिसकेपछि पानीले भिजाएर ढुंगाले घोट्दै गर्दा चिल्लो भई लेख्न योग्य हुन्छ । 

सोही थांकामा विशेषतः बुद्धका चित्र कोरिने गरिन्छ । यसरी नै बनाइएका थांका भक्तपुर, बौद्ध, पाटन र ठमेललगायत व्यस्त बजारमा बिक्रीका लागि राखिएका देखिन्छन् । यसरी बनाइएको थांका नेपाल घुम्न आउने पर्यटकले किन्ने गर्छन् । व्यवसायीका अनुसार थांका बढी चाइना नागरिकले किन्ने गरेका छन् ।
 
पर्यटकको सहजताका लागि काम गर्ने टुरिस्ट गाइडले शहर घुमाउने क्रममा पर्यटकलाई थांका पसलसम्म पु¥याउने गर्छन् । पर्यटकले थांका किनिसकेपछि व्यापारीले त्यसको केही प्रतिशत रकम कमिसनबापत टुरिस्ट गाइडलाई दिँदै आएका छन् । 

तर पछिल्लो समय ठमेलमा थांकाको व्यापार घट्दै गएको व्यापारीहरूको भनाइ छ । गाइडले व्यवसायीसँग भनेजति कमिसन प्रतिशत नपाउँदा पर्यटकलाई अन्तै लैजाने गरेका कारण ठमेलमा यसको व्यापार घट्दै गएको व्यवसायीको गुनासो छ ।
 
ठमेलस्थित नेपाल आर्ट ट्रेडर्सका थांका व्यवसायी कृष्णगोपाल श्रेष्ठ भन्छन्, ‘गाइडलाई बिक्री भएको थांकाको १० प्रतिशत दिन्छौँ । तर, बौद्धमा ५० प्रतिशतसम्म कमिसन दिने भन्दै पर्यटकलाई उतै लैजाने गरेका छन् ।’ 

यता लक्की थांकाका व्यवसायी विशाल श्रेष्ठ भन्छन्, ‘अधिकांश गाइडले नै पर्यटक ल्याउने हुँदा उनीहरूलाई चित्त बुझाउनुपर्ने बाध्यता छ ।’ उनले भने, ‘तर केही समययता गाइडले कमिसन प्रतिशत बढाउँदै जाँदा आफूहरू मारमा पर्ने गरेका छौँ । 

व्यवसायीका अनुसार गाइडले पर्यटकलाई थांका पसल पुर्याउनुअघि व्यवसायीसँग कमिसनको बार्गेनिङ गर्ने गर्छन् । उनीहरूलाई चित्त नबुझे यो पसलमा थांका राम्रो नभएको भन्दै अन्ततिरै पर्यटकलाई लैजाने गरेको टिबिटिएन लामा थांका पेन्टिङका व्यवसायी दीपेश श्रेष्ठ बताउँछन् । 





  • प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार १६:३२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया