स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट २५ असारसम्ममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा प्रविष्टि गर्नुपर्ने हुन्छ ।
तर, देशभरबाट ६५.६ प्रतिशत अर्थात् ७५३ मध्ये हालसम्म जम्मा ४९४ स्थानीय तहले मात्रै मन्त्रालयको वेबसाइटमा बजेटको विवरण पेस गरेका छन् ।
बाँकी ३४.४ प्रतिशत अर्थात् २५९ स्थानीय तहले असार मसान्त लाग्नैलाग्दा समेत बजेटको विवरण पठाएका छैनन् ।
२५ असारसम्ममा पेस गरिसक्नुपर्ने बजेट हालसम्म पनि धेरै स्थानीय निकायले आलटाल गरेर प्रविष्टि नगरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
बजेट पेस गर्न बाँकी रहेका धेरै मधेस प्रदेशका स्थानीय तह छन् । मधेस प्रदेशका ४६.३ प्रतिशतले विवरण बुझाएका छैनन् ।
मधेसमा जम्मा १३६ स्थानीय तह रहेका छन् । जसमध्ये ६३ स्थानीय तहले मात्रै बजेट पेस गरेका छन् । ५३.७ प्रतिशत अर्थात् ७३ स्थानीय तहले अझै पनि बजेटको विवरण नपठाएका हुन् ।
त्यसपछि सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्टि गर्ने सबैभन्दा धेरै स्थानीय तह गण्डकी प्रदेशका रहेका छन् । यहाँका ८१.२ प्रतिशत स्थानीय तहले बजेटको विवरण मन्त्रालयमा पेस गरिसकेका छन् ।
कुल ८५ स्थानीय तह रहेको गण्डकी प्रदेशमा ६९ स्थानीय तहले बजेटको विवरण बुझाएका हुन् । १८.८ प्रतिशत अर्थात् १६ स्थानीय तहले अझै आलटाल गरेका छन् ।
बागमती प्रदेशमा ११९ स्थानीय तह छन् । जसमध्ये हालसम्म ६८.१ प्रतिशत अर्थात् ८१ स्थानीय निकायले आफूले ल्याएको बजेट मन्त्रालयमा पेस गरेका छन् । यहाँ पनि ३१.९ प्रतिशतले अझै विवरण पेस गरेका छैनन् । ३८ स्थानीय तहले बजेटको विवरण बुझाउन आलटाल गरेका हुन् ।
प्रदेश-१ का १३७ स्थानीय तहमध्ये हालसम्म ७१.५ प्रतिशतले विवरण पेस गरेका छन् । ९८ स्थानीय निकायले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको विवरण मन्त्रालयमा पेस गर्दा २८.५ प्रतिशत अर्थात् ३९ स्थानीय निकायले बेवास्ता गरेका छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशका १०९ मध्ये ७७ स्थानीय तहले विवरण बुझाएका छन्, यो ७०.६ प्रतिशत हुन आउँछ । बाँकी ३२ स्थानीय तहले बजेटका विवरण बुझाउन ढिलाइ गरेका छन्, जुन २९.४ प्रतिशत हो ।
यस्तै, कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये हालसम्म ६३.३ प्रतिशत अर्थात् ५० स्थानीय निकायले बजेट विवरण मन्त्रालयमा पेस गरेका छन् । ३६.७ प्रतिशत अर्थात् ३९ वटा स्थानीय तहले अझै पनि बजेट पेस गरेका छैनन् ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ६३.६ प्रतिशतले बजेटको विवरण पेस गरेको मन्त्रालयले जनाएको छ । यहाँ ५६ स्थानीय तहले बजेट मन्त्रालयमा पेस गर्दा बाँकी ३२ स्थानीय तहले आलटाल गरेका छन् । यहाँका ३६.४ प्रतिशत स्थानीय तहले विवरण पेस नगरेका हुन् ।
विवरण
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।