दिल्ली पुगेर प्रचण्डले भने - मेरो भ्रमणले दुई देशको सम्बन्धलाई थप बलियो बनाउनेछ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि आफूले भारतको भ्रमण गरेको बताएका छन् । शनिबार भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले त्यस्तो बताएका हुन् ।

प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमण आएको बताए  । उनले करिब तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको दोहोर्‍याएका छन् । आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरूसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने उनले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो । दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ र यो सद्भावना भ्रमण हो । कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन । समग्रमा नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरूसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो । यो भ्रमण आकस्मिक होइन, दुई तीन महिना अघिदेखि यसमा छलफल भइरहेको थियो ।’


अध्यक्ष प्रचण्ड शुक्रबार दिउँसो भारत पुगेका थिए । दाहालले आज भारतीय विदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्नेछन् । त्यस्तै उनले आज नै भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर प्रचण्ड स्वदेश फर्किने छन् । 





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार १३:२०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया