धमाधम रकम फिर्ता गर्दै भूकम्प लाभग्राही

बनेपा–भूकम्पले निजी आवासमा क्षति पुर्याएको लाभग्राहीले आफ्नो नाम परे पनि पहिलो किस्ता रकम लिएर घर नबनाई फिर्ता गरेका छन् । रकम फिर्ता गर्नेको सङ्ख्या ३२ पुगेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणले छिटो गति लिनका लागि गरेको पहलमा सम्झौता गर्ने र पहिलो किस्ता रकम लिएर घर निर्माण नगर्नेले गत पुस १५ गते भित्रमा रकम फिर्ता गर्न सकिने सार्वजनिक सूचना जारी गरेको थियो । लाभग्राहीले प्राधिकरणको सूचना अनुसार रकम फिर्ता गरेका हुन् । 

जिल्लामा ३२ जना लाभग्राहीले घर निर्माण गर्न नसकेको भन्दै रकम फिर्ता गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेपलाञ्चोकका प्रमुख लोकनाथ रेग्मीले बताए । ‘प्राधिकरणले तोकिएको समयसीमा समाप्त भए पनि घर निर्माण गर्न नसक्नेले अझै पनि रकम फिर्ता गर्न चाहेमा गर्न सकिन्छ ।’ रेग्मीले भने,‘जसरी हुन्छ वास्तविक भूकम्प लाभग्राहीले कि त घर बनाउनु पर्यो, कि त रकम फिर्ता गर्नुपर्यो ।’ 

रकम लिने र घर निर्माण नगर्ने जो कसैको मनसाय भए पनि रकम असुल गरिने अभियानमा रहेको उनले बताए । त्यसको लागि पहिलो किस्ता लिएर घर नबनाउने लाभग्राहीबाट रकम फिर्ता गराई नाम लाभग्राहीको सूचीबाट हटाइने र त्यसको प्रभाकारी कार्यान्वयनको लागि अनुगमन प्रक्रिया तीव्र बनाइने उनले जानकारी दिए । 

पुनःनिर्माणको अभियानसँगै बाँकी रहेका मौलिक घरलाई प्रवलिकरण गर्न प्रोत्साहन गर्ने र सो प्रयास देशैभर गर्न सकेमा भूकम्पीय जोखिम पनि कम हुने तथा मौलिकबस्ती पनि जोगाइ राख्न सकिने उनको भनाई छ । साथै एकीकृत बस्ती विकासमा जोड दिने र यसमा स्थानीय तहलाई अधिकार दिने तथा तेस्रो किस्ता लिनेलाई निर्माण सम्पन्न प्रमाणपत्र दिनुअघि प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाउने लगायतको प्रक्रियामा रहेको बताए । 

काभ्रेपलाञ्चोकमा निजी आवास पुनःनिर्माणको लाभग्राहीको लागि ८२ हजार ८३३ जना लाभग्राहीको पहिचान भएकोमा अनुदान सम्झौता गरेर पहिलो किस्ता लिनेको सङ्ख्या ७२ हजार १७ छ । 





  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार १५:४०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया