साम्प्रदायिकता भड्काउने मुख्यमन्त्रीको अभिव्यक्ति खेदजनक : एमाले मोरङ

नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । 

शनिबार सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा नामाकरण गर्ने महत्वपूर्ण जिम्मेवारीबाट पन्छिन खोजेको ठहर गर्दै त्यसप्रति खेद व्यक्त गरेको हो । एमाले मोरङले अविलम्ब प्रदेशबासी सबैलाई मान्य हुने साझा नाम राख्नसमेत सुझाब दिएको छ । 

सार्वजनिक महत्वका क्षेत्रमा विभिन्न १८ बुँदे निर्णय गरेको एमाले मोरङले अलपत्र अवस्थामा छाडिएको हुलाकी राजमार्ग र रतुवा खोलाको पुल निर्माणको काम अविलम्ब सक्न सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै, अधिक बजेट खर्च गरेको देखाउने नाममा प्रदेश सरकारले गत जेठ र असारमा अत्यन्तै कमसल तथा गुणस्तरहीन काम गर्दै अर्बौं रुपैयाँको अपचलन गरेको भन्दै एमालेले सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

धान रोप्ने मुख्य समयमा समेत मल र बीउको उचित व्यवस्थापन नगरेर वर्तमान सरकार राज्यको ढुकुटी लुट्न मात्र उद्यत देखिएको आरोप लगाउँदै एमाले मोरङले यस्ता क्रियाकलापप्रति खेद व्यक्त गरेको छ । मोरङका विभिन्न नाकाबाट सरकारी आडमै दिनदहाडै तस्करी संस्थागत हुँदै गएको भन्दै एमालेले तस्करी रोक्न र प्राकृतिक विपद्को क्षति न्यूनीकरणका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । 

सरकारी सेवाप्रदायक कार्यालयहरुमा हुनेगरेको ढिलासुस्ती, अनियमितता, भ्रष्टचार, घुसखोरीलगायतका बेथितिलाई नियन्त्रण गरी आमनागरिकलाई सहज, सरल र भरपर्दो सेवा प्रवाह गर्न एमालेले ध्यानाकर्षण गराएको छ ।

यस्तै, नेकपा एमाले मोरङले आगामी दुई महिनाभित्र पार्टीको संगठनात्मक कामलाई पूर्णता दिई राजनैतिक तथा वैचारीक प्रशिक्षण अभियान चलाउने भएको छ । पार्टीका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार दुई महिनाभित्र पार्टीका सम्पूर्ण कमिटी तथा जनसंगठनलाई पूर्णता दिई गतिवान् बनाउने निर्णय भएको बताए । 



राजनीतिक वैचारिक प्रशिक्षण अभियानलाई वडा, टोल, पालिका र निर्वाचन क्षेत्र र जिल्लास्तरमै सञ्चालन गरिने उनले बताए । जिल्लास्तरीय प्रशिक्षण साउन २३ गते मोरङको सुन्दरहरैँचाको विराटचोकमा आयोजना हुने उनले जानकारी दिए । 



  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार १७:२३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया