जिल्ला समन्वय समिति बाजुरामा एमालेका उम्मेदवार निर्वाचित

जिल्ला समन्वय समिति बाजुराको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । यहाँ ९ वटा पालिकाका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरी १८ जना मतदाता थिए । 

एमालेसँग १२ मत रहेकाले ऊ कसैसँग तालमेल नगरी निर्विरोध निर्वाचित भएको हो । नेकपा एमालेबाट समन्वय प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछु सार्की, खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतरा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी महिला सदस्यमा कल्चुदेवी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्बदेवी विक निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्लाका ९ वटा स्थानीय तहमा बुढीगंगा, बडिमालिका नगरपालिका, गौमुल, जगन्नाथ गाउपालिकामा गरी ४ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ । त्रिवेणी नगरपालका, स्वामीकार्तिक खापर गाउँपालिका गरी दुईवटा पालिकामा प्रमुख उपप्रमुख नेपाली कांग्रेसले जितेको छ ।

जम्मा १८ जना मध्ये १२ जना एमालेको पक्षमा र ६ जना नेपाली कांगेस पक्षका रहेकाले नेपाली कांग्रेसले उम्मेदवारी नै दर्ता गराएन । 

जिल्लाका ९ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहको असार २३ गते पहिले नै निर्वाचन सम्पन्न भएको थियो । बुढीगंगा नगरपालिकाको स्थानीय निर्वाचन असार २३ गते सम्पन्न भएको थियो । 



असार ३२ गते कार्यपालिकाको निर्वाचन सम्पन्न भएको पत्र प्राप्त भएपछि आइतबार जिल्ला समन्वय समितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताएका छन् ।

व्यक्तिको नाम सिफारिस गरी पठाउन जिल्ला कार्यसमितिलाई परिपत्र गरेको उनले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको अध्यक्षतामा सञ्चालन भएको शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद लालबहादुर थापा रहेका थिए । 



जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान जिल्ला समन्वय समिति प्रमुख नरेन्द्रकुमार रोकाया, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलगायत जिल्ला समन्वय समितिका निर्वाचित पदाधिकारी र पत्रकारको उपस्थिति थियो ।

  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १८:३७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया