उद्योगीलाई प्रधानमन्त्री देउवाको आग्रह : व्यापार घाटा कम गर्न दत्तचित्त भएर लाग्नुहोस्

प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो उपभोगसँगै मुलुकले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा कम गर्ने कार्यमा दत्तचित्त भएर लाग्न उद्योगी व्यवसायीलाई अनुरोध गरेका छन् ।

विदेशी मुद्राको घट्दो सञ्चिति, सुस्त बन्दै गइरहेको उत्पादनमूलक क्षेत्र, घट्दो कृषि उत्पादन र उत्पादकत्व, बढ्दो बेरोजगारी आदिका कारण मुलुकको अर्थतन्त्रलाई थप बिग्रन नदिन बुद्धिमतापूर्ण ढङ्गले वित्त तथा मौद्रिक नीतिलाई कार्यान्वयन गर्नुपर्ने खाँचो रहेको प्रधानमन्त्री देउवाले औँल्याए ।

नेपाल उद्योग परिसंघको १९ औँ वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै उनले कोभिड–१९ महामारीले शिथिल बनाएको अर्थतन्त्र रुस र युक्रेनबीचको युद्धका कारण थप प्रभावित हुने स्थितिमा पुगेको बताए ।

‘अर्थतन्त्रको सुदृढीकरणका लागि खासगरी तपाईं उद्यमी व्यवसायी साथीहरूले विदेशमा उत्पादित महँगा र विलासी वस्तुहरू स्वदेशमा आयात गर्न र उपभोग बढाउनतिर मात्र नलागेर स्वदेशमै उत्पादन सम्भव भएका वस्तु तथा सेवाको उत्पादन वृद्धि र तिनको बजारीकरण गर्दै आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउन त्यस क्षेत्रमा लगानी केन्द्रित गर्न म आग्रह गर्न चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने ।

कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको आधारशिला भएकाले कृषि क्षेत्रको व्यवसायीकरण र यान्त्रीकरण गरी यस क्षेत्रको विकासमार्फत आर्थिक वृद्धिको जग बलियो बनाउन र मुलुकको गरिबी र आर्थिक असमानता हटाउन प्रधानमन्त्री देउवाले निजी क्षेत्रको ध्यानाकर्षण गराएका थिए ।

विदेशी कच्चा पदार्थमा आधारित कम मूल्य अभिवृद्धि हुने प्रशोधन उद्योगभन्दा मुलुककै कृषि, वन तथा खानी क्षेत्रका कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास गरी स्वदेशमै आय र रोजगारी प्रवद्र्धन हुने गरी आफ्ना आर्थिक क्रियाकलापहरूलाई अघि बढाउन आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ । 





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार ६:३६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया