जनार्दन शर्मामाथि छानबिन : समितिले बुधबारबाट प्रतिवेदन लेख्न थाल्ने
फाइल तस्वीर

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय विशेष छानबिन समितिले बुधबार प्रतिवेदन तयार पार्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकले छलफल र प्रतिवेदन सँगसँगै तयार पार्ने निर्णय गरेको हो ।

सचिव सुरेन्द्र अर्यालले बैठकमा प्रतिवेदन कसरी लेख्ने भन्ने विषयमा बढी छलफल भएको बताए । बैठकमा सीसीटीभीका विषयमा धेरै छलफल नभएको उनको भनाइ छ । उनले सीसीटीभीबारे प्रतिवेदनबाटै थाहा हुने बताए । 

'समिति नै अहिले निष्कर्षमा पुगेको छैन । सीसीटीभीमा देखिएको कुरा प्रतिवेदनबाट थाहा पाउनुहुन्छ । अहिल्यै यो देखियो वा देखिएन भनेर बताउने अवस्था छैन,' उनले सञ्चारकर्मीसँग भने । उनले सत्यतथ्य पता लगाउने औजार सीसीटीभीमात्र नभएको भन्दै अन्य प्रमाणबारे पनि छलफल भइरहेको बताए ।

उनले प्रमाण जुटाउने क्रममा समितिले सीसीटीभी फुटेजलगायत अन्य कागजात प्रमाण संकलनका साथै अर्थ मन्त्रालयका विभिन्न पदाधिकारीसँग समेत छलफल गरेको बताए । उनले प्राप्त सबै प्रमाणका आधारमा बुधबार बैठक बसेर निष्कर्ष पुग्ने उनले बताए ।

तत्कालीन अर्थमन्त्री शर्मामाथि आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा छानबिन भइरहेको छ । उक्त घटना  छानबिन गर्न प्रतिनिधिसभाले ११ सदस्यीय विशेष छानबिन समिति गठन गरेको छ । संसदीय समिति गठनपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् ।

छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, र विमला विक र कांग्रेसबाट मानबहादुर विश्वकर्मा र सिताराम महता, माओवादीबाट देवप्रसाद गुरुङ र शक्ति बस्नेत, नेकपा एकीकृत समाजवालीबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छन् ।





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार २०:५०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया