युट्युवमा हेरेर नै ड्रागन खेती, बजारको छैन चिन्ता

पछिल्लो समय ड्रागन फलको बढ्दो बजार माग धान्न व्यवसायीलाई मुस्किल भएको छ । केही समय अघिसम्म अधिकांशलाई थाहा नभएको ड्रागन फल अहिले बजारमा उच्च माग आउन थालेको हो । 

बढ्दो बजार मागका कारण ड्रागन फलको व्यावसायिक सम्भावना पनि त्यत्तिकै बढेको छ । यतिबेला कञ्चनपुरका गोकर्णबहादुर वली ड्रागन खेतीमा नै रमाउन थालेका छन् । सिउँडी जस्तो देखिने ड्रागन फलको बारेमा अझै पनि कतिपय त अनभिज्ञ नै छन् । तर देशका मुख्य शहरमा यसको माग पछिल्लो समय अत्यधिक भएको वली बताउँछन् । 

सिउँडी प्रजातिको यो फल अमेरिका, मेक्सिको र दक्षिण अमेरिकी देशहरूमा पाइने गर्छ । अहिले नेपालमा पनि यसको व्यावसायिक खेती सुरु भएको छ । 

वलीले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक कैलालीको गोदावरी नगरपालिका तेघरीमा डेढ बिगा जग्गा भाडामा लिएर एक वर्षदेखि यो खेती गरिरका छन् । उनले आफूले युट्युब हेरेर नै ड्रागन खेती गरेको बताए । 

वलीले अत्तरियाको तेघरीमा जग्गा भाडामा लिएर २०७७ श्रावणबाट व्यावसायिक रूपमै खेती शुरु गरेको बताए । बजारमा ड्रागनको माग धेरै आइरहे पनि पुर्‍याउन नसकेको गुनासो गरे । ड्रागन लगाएको स्थानमा नै आउनेलाई पनि फल नफलिसकेकोले दिन नसकेको बताए । 

उत्पादन भएका फल फार्ममै लिन आउने गरेकोले बजारसम्म पनि पुर्‍याउन जानु नपरेको बताए । सुरुवाती चरणदेखि सिँचाइसम्म गर्दा अहिलेसम्म ३९ लाख रुपैयाँ लगानी भएको उनको भनाइ छ । उनले एक वर्षमा नै ड्रागन फलेपछि ५ सय केजी बिक्री गरिसकेको बताए । 



ड्रागन फल्न १८ महिनाको समय लाग्ने गरे पनि आफ्नो बारीमा भने पहिलो वर्षमा नै फलेको बताए । खेती बिस्तारका लागि दाङ र सिन्धुलीबाट बिरुवा ल्याएको र डेढ बिगा जग्गामा ३ हजार ५ सय बिरुवा रोपेको बताए । 

ड्रागन खेती भित्र अन्तर बाली लगाएका वलीले जग्गा भाडा अन्तरबालीबाट नै तिर्ने गरेको बताए । आगामी वर्षका लागि ५ हजार ड्रागनको बिरुवा उत्पादन गर्ने लक्ष्य राखेको उनले बताए । 



सुदूरपश्चिम प्रदेशमा नै पहिलोपटक स्थापना भएको गोदावरी ड्रागन फललाई प्रदेश सरकारअन्तर्गतको कृषि विकास निर्देशनालय डोटीले ५ लाख रकम अनुदान दिएको कृषि विकास निर्देशक यज्ञराज जोशीले बताए । उनले ड्रागन फलको खेती सुदूरपश्चिममा पहिलोपटक गरेको र प्रदेश सरकारले अनुदान दिएको बताए । 

उनले कृषि अनुसन्धान टोलीले निरीक्षण गरिरहेको बताउनु भयो । उहाँले उक्त ड्रागन फार्ममा दुई प्रकारको प्रजाति रहेको बताए । एउटा बोक्रा गुलावी गुदी सेतो, अर्को बोक्रा गुलावी र गुदी रातो हुने प्रकारको रहेको उल्लेख गरे । 

ड्रागन फलको नियमित प्रयोगले मानिसलाई ताजा राख्नुका साथै मुटु समेत स्वस्थ राख्ने र यसमा फाइबर र एन्टी अक्सिडेन्ट्स हुने भएकोले यसले मुटुलाई स्वास्थ्य र शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउन मद्दत गर्ने उनले बताए ।

ड्रागनको फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जेठदेखि असोज–कार्तिकसम्म उत्पादन हुन्छ । रोपेको २ वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ भने यसले २० वर्षसम्म उत्पादन दिने जोशीले बताए ।

  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १४:७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया