२०६४ को निर्वाचनमा जस्तो गल्ती दोहोर्‍याउने छुट कसैलाई छैन : केपी ओली
फाइल तस्वीर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराएका छन् । उनले आज दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सो प्रवृत्ति दोहोर्‍याउनु बेठीक हुने बताए ।

उनले संघीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई दोहोर्‍याएर गल्ती गर्ने छुट अब नभएको बताए । उनले ठट्टा गर्दै भने, '२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छ ?' 

तत्कालीन समयमा आफूलाई हराएको एक वर्ष नबित्दै क्षेत्र नं ७ का बासिन्दाले पछुतो मान्नु परेको स्मरण गराउँदै उनले गल्तीलाई फेरि दोहोरिन नदिन आग्रह गरे । उनले स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाले हार्नुको कारणबारे पनि कार्यकर्तालाई प्रश्न गरे । 

अध्यक्ष ओलीले दलको झण्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको भन्दै आक्रोश व्यक्त गरे । उनले कार्यक्रममा पार्टीको सिद्धान्त तथा नीति सबैले बुझ्नु पर्ने र दोहोर्‍याएर गल्ती गर्ने काममा नलाग्न सबै कार्यकर्तालाई निर्देशन दिए ।

आजै अध्यक्ष ओलीले कमल र गौरीगञ्ज गाउँपालिका तथा गौरादह नगरपालिकाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष दीपक कार्कीले जानकारी दिए ।





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १६:१३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया