आइएल लिगमा शीर्ष खेलाडीको पारिश्रमिक साढे ४ लाख अमेरिकी डलर, एक टोलीमा दुई एसोसिएट खेलाडी

यूएईको फ्रेञ्चाइज लिग इन्टरनेसनल लिग टी–२० (आइएल टी–२०) ले विश्वका शीर्ष खेलाडीलाई एक सिजनमा ४ लाख ५० हजार अमेरिकी डलरसम्म पारिश्रमिक दिने तयारी गरेको छ । 

यो पारिश्रमिक क्रिकेट लिगमध्ये भारतको इण्डियन प्रिमियर लिग (आइपिएल) पछिको बढी हो । जसकारण यूएईको टी–२० लिग आइपिएलपछिको आकर्षक लिग बन्ने भएको छ । 

आइएल टी–२० ले प्रतियोगितालाई आकर्षक र विश्व क्रिकेटको ध्यान तान्न खेलाडीलाई मोटो रकमको पारिश्रमिक दिने योजना बनाएको हो । मोटो रकमको कारण विश्वका ठुला खेलाडी प्रतियोगिता खेल्न आउने अनुमान गरिएको छ ।

इमिरेट्स क्रिकेट बोर्ड (इसिबी) ले स्वीकृती दिए पनि लिग उसको स्वामित्वमा भने छैन । इसिबीका उपाध्यक्ष खालिद अल जरुनी र बोर्डका महासचिव मुबाशिर उस्मानीको नेतृत्वमा लिगको व्यवस्थापन छ ।

जनवरी २०२३ मा हुने लिगका हरेक टोलीले खेलाडीको तलबका लागि २.५ मिलियन अमेरिकी डलरसम्म खर्च गर्न पाउने प्रावधान राख्ने तयारी गरिएको छ ।

आइपिएलमा सबैभन्दा धेरै कमाउने खेलाडीले प्रति सिजनमा २ मिलियन डलर पाउँछन् । यस्तै, पाकिस्तान सुपर लिगमा २ लाख डलर, द हन्ड्रेडले १ लाख ६४ हजार डलर र बिग ब्यास लिगमा सबैभन्दा बढी प्रतिसिजन २ लाख ३८ हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउने गरेका छन् ।



यूएईको लिगमा ६ टोलीको सहभागिता रहनेछ भने एक टोलीमा १८ खेलाडी हुनेछन् । लिग अर्को वर्षको ६ जनवरीदेखि १२ फेब्रुअरीसम्म हुने तालिका छ । डबल राउण्ड रोबिनका आधारमा खेलाडी प्रतियोगिताको शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन् ।

लिगका ६ मध्ये तीन टोली आइपिएल फ्रेन्चाइजको स्वामित्वमा छ । मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सले युएईको लिगमा पनि टोली किनेका हुन् । बाँकी तीन टोली ल्यान्सर क्यापिटलको स्वामित्वमा छन् ।  



लिगको उद्देश्य एक्सपोजर प्रदान गर्ने र युएईका नयाँ प्रतिभा खोजी गर्ने बताइएको छ । एक टोलीका १८ खेलाडी मध्ये १२ विदेशी खेलाडी राख्न सकिनेछ। एक टोलीमा कम्तिमा तीन यूएईका खेलाडी, दुई एसोसिएट देशका खेलाडी र यूएई यू–२३ टोलीको एक खेलाडी हुनुपर्छ । प्लेइङ सेटमा कम्तिमा एक यूएई र एक एसोसिएट खेलाडीसहित बढीमा नौ विदेशी खेलाडी हुन सक्छन् । 

लिगमा बढीमा ३ लाख ४० हजार अमेरिकी डलर पारिश्रमिक र घटीमा १० हजार अमेरिकी डलर पारिश्रमिक हुनेछ । टोलीले बोनसको रुपमा ५ लाख अमेरिकी डलरसम्म बाढ्न सक्नेछ । पाँच खेलाडी सिधा छनोट गर्न सकिनेछ भने बाँकी खेलाडी ड्राफ्ट र अक्सनबाट छनोट हुनेछन् । 
 

  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १०:४९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया