निर्माणाधीन सिस्नेखोला सुरुङ मार्गमा पहिरो खस्यो, सवारी आवागमन अवरुद्ध

धादिङको धुनीबेंसी नगरपालिका-९ सिस्नेखोला सुरुङ मार्गको निर्माणाधिन सडकमा पहिरो खसेको छ । पहिरोका कारण साेमबार बिहानैबाट सुरुङ मार्ग हुँदै नागढुङ्गा नाकाबाट उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवागमन प्रभावित भएको छ ।

सुरुङ मार्गमा खसेको पहिरो डोजरको सहयोगमा एकतर्फी पन्छाउने कार्य भइरहेकाले उपत्यका भित्रिने सवारी साधनको क्यु धादिङको टायल घरसम्म र बाहिरिने सवारीसाधनको लाइन नागढुंगा चेकपोस्टसम्म रहेको छ ।

पानी परिरहेको र पहिरो खस्ने क्रम पनि जारी रहेकाले दुईतर्फी सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । म्याग्दीको रुप्से, जलेश्वर र नौनी बगर लगायतका स्थानमा पनि पहिरो खसेको छ । जसका कारण बेनी–जोमसोम सडक खण्डमा सवारी आवागमन आंशिक रूपमा अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको छ । अविरल वर्षाको कारण अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-४ डाक्लाङमा साेमबार बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको छ । सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ ।

सडक मर्मतको लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङको पाथीभरा याङ्बराक गाउँपालिका- १ खहरेमा बिहान पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको छ । मध्य पहाडी लोक मार्ग अन्तर्गत खोटाङको हलेसी तुवाचुङडाँडामा पनि अविरल वर्षाको कारण बिहान पहिरो खसेर अन्दाजी १५ मिटर सडक अवरुद्ध भएको छ । 





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १३:२८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया