सर्वोच्चको आदेशपछि इन्भेस्टमेन्ट बैंकले फिर्ता गरायो सुमार्गीको २३ करोड

काठमाडौं– सर्वोच्च अदालतको आदेशपछि नेपाल इन्भेस्टमेन्ट बैंकले व्यवसायी अजय सुमार्गीसँग २३ करोड रुपैयाँ फिर्ता गराएको छ ।

गत २४ पुसमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको पूर्ण इजालसले अल्पकालीन आदेशको भरमा झिकेको रकम पुरानै अवस्थामा फर्काउन आदेश दिएको थियो । १० पुसमा सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले रकम झिक्न अल्पकालीन आदेश दिएको भन्दै सुमार्गीले बैंकमा रहेको रकम निकालेका थिए । 

इन्भेस्टमेन्ट बैंकमा मुक्तिश्री सिमेन्टका लागि भन्दै भित्र्याएको रकम शंकास्पद रहेको भन्दै राष्ट्र बैंकले सो रकम रोक्का राखेको थियो । मुक्तिश्रीका नाममा खोलेको खातामा इन्भेस्टमेन्ट बैंकमा रहेको सुमार्गीको ७८ करोड ७ लाख रुपैयाँमध्ये सुमार्गीले त्यहाँबाट निकालेर नेपाल बंगलादेश बैंकमा २५ करोड, प्राइम बैंकमा २० करोड र महालक्ष्मी विकास बैंकमा १० करोड जम्मा गरेका थिए । यी तीनै बैंकलाई समेत राष्ट्र बैंकले खाता रोक्का गर्न परिपत्र गरेको थियो ।

सुमार्गीको लगानीमा सञ्चालित मुक्तिश्री सिमेन्ट उद्योग प्रालिको खातामा विदेशबाट जम्मा भएको ७५ लाख अमेरिकी डलर भुक्तानी रोक्का नगर्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो । यसअघि पनि समार्गीले पटक–पटक गरी ८३ करोड २५ लाख र २ अर्ब २५ करोड रुपैयाँ लगिसकेको राष्ट्र बैंक स्रोतले जनाएको छ । 

सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न ४ करोड ५० लाख अमेरिकी डलर खातामा जम्मा पारेका थिए । खातामा जम्मा भएको रकममध्ये ७५ लाख अमेरिकी डलर राष्ट्र बैंकले रोक्का गरेको थियो । उद्योगका लागि जम्मा गरेको रकम भुक्तानी दिन बैंकले रोकेकाले उद्योग धराशायी हुन लागेको दाबीसहित उनले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । 





  • प्रकाशित मिति : माघ ९, २०७५ बुधबार १८:४५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया