धनगढीमा प्रहरी अस्पताल सञ्चालनमा

कैलाली सदरमुकाम धनगढीमा प्रहरी अस्पताल सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र सोमबारदेखि अस्पताल सञ्चालनमा आएको हो । 

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले एक कार्यक्रमका बिच अस्पतालको उद्घाटन गरे । अस्पतालको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सुदूरपश्चिम प्रदेशमा महिलाहरुको आङ खस्ने समस्या बढी देखिने गरेकाले त्यसका लागि विशेषज्ञ गाइनोलोजि महिला डाक्टर राखेर निःशुल्क सेवा दिने उदेश्यले अस्पताल सञ्चालनमा ल्याइएको बताए ।

महानिरीक्षक सिंहले भने, ‘धनगढी उपमहानगरपालिका र अन्य स्थानीय तह मिलेर यस अस्पताललाई एउटा नमुना अस्पतालको रुपमा बनाउँछौं ।’ आजदेखि सुरु भएको अस्पतालमा एक हप्तासम्म सबैलाई सेवा निशुल्क रहेको मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डाक्टर आशा सिंहले बताइन् ।

‘सुदूरपश्चिमका प्रहरी बिरामी हुँदा पहिले काठमाडौं लग्नुपर्ने हुन्थ्यो’ मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डाक्टर सिंहले भनिन्, ‘अब यही अस्पताल भएकाले सहज हुन्छ ।’ सर्वसाधारणले समेत सेवा पाउनेगरी अस्पताल सञ्चालन गरेको सिंहले बताइन् । विशेषज्ञसहितको सेवा दिने अस्पतालबाट केही समयपछि शल्यक्रिया सेवा समेत प्रदान गर्ने योजना रहेको उनले बताइन् ।

हाल अस्पतालमा पाच बेड, पाँच वार्डका साथै दुई वटा इमर्जेन्सी गरी सात वार्ड रहेको उनले बताइन् । उनले गाइने दुई जना, सर्जरी एक जना, मेडिकल अफिसर एक जना, ल्याब दुई जना, फार्मेसी दुई जनासहित हाल अस्पतालमा ३१ जना जति कर्मचारी रहेको बताइन् । उनले यसलाई विस्तार गर्दै क्रमिक रुपमा ५० वेडको बनाउने लक्ष रहेको बताइन् ।

अस्पताल उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरका प्रमुख गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख मोहनकुमार आचार्य लगायतले धारणा राखेका थिए । 





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १६:१६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया