सडकबिनाको पुलबारे गाउँपालिका अध्यक्ष भन्छन्– पुल बने पनि सडक निर्माण गर्न भने गाह्रो छ

सिरानचोक गाउँपालिका–५ जरेवर र गोरखा नगरपालिका–३ नारेश्वर जोड्ने गरी पक्की पुल निर्माणको काम सकिनै लागेको छ । तर, पुलको नत वारी सडक छ नत पारी ।  पुलको एकापट्टी हराभरा धान खेत छ भने अर्कातर्फ जंगलसहितको ठूलो पहरा छ । यो बीच भएर बग्ने दरौदी नदीमा अहिले ५ करोड ३९ लाख ८० हजार खर्च गरेर ५० मिटर लामो मोटरेबल पुल निर्माणको काम अन्तिम चरणमा छ ।

सडकै नभएको ठाउँमा मोटरेबल पुल बनेपछि स्थानीयवासी पनि चकित भएका छन् । उसो त सोही आसपासमा दरौदी नदीमा अन्य सात वटा पुल पनि छन् । जसलाई वारीपारी सडकले जोडेको छ । तर, जरेबरमा हालसालै गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले निर्माण गराएको पुलमा दुवैतर्फ सडक छैन । स्थानीयका अनुसार खासमा बस्नेतले उक्त पुल आफ्नो बेँसीको खेतमा पुग्न निर्माण गराएका हुन् ।

बस्नेतमाथि सडक नै नभएको ठाउँमा आफनो खेत पुग्नका लागि दरौदी नदीमा ५ करोडको पुल बनाएको आरोप लागेको छ । आफू पदमा भएका बेला उनले शक्ति र पदको चरम दुरुपयोग गरी यो पुल बनाएको स्थानीयको आरोप छ । जरेबरमा बनेको उक्त मोटोरेबल पुलले सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकालाई जोड्छ ।

सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले उक्त पुल सञ्चालनमा आउँछ वा आउँदैन अहिले नै भन्न नसकिने प्रतिक्रिया दिए । सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा जरेबरको सडकबिनाको पुल चर्चामा रहेपछि गाउँपालिका अध्यक्ष गुरुङले स्थानीयसँग यस विषयमा बुझेको बताएका छन् । 

पुल निर्माणका क्रममा नै स्थानीयवासीसँग समन्वय नगरेरै पुल निर्माण गर्दा अहिले यो परिस्थिति सिर्जना भएको अध्यक्ष गुरुङ बताउँछन् । स्थानीयसँग संवाद नगरेरै पुल निर्माण गर्दा अहिले यो विषय चर्चामा आएको उनको भनाइ छ ।  

‘अहिले यो विषय मिडियामा आएपछि मैले पनि त्यहाँका जनप्रतिनिधिसँग बुझेको थिए । त्यो पुल आवश्यक छ वा छैन भन्ने कुरा मैले पुष्टि गर्ने होइन । पक्की पुल बनिसकेपछि प्रयोगमा आउनुपर्छ भन्ने हाम्रो चाहाना हो । तर, यो विषयमा स्थानीयसँग, जनप्रतिनिधि, बुद्धिजीवीसँग कुनै संवाद भएको छैन,’ गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘अहिले नै मैले बाटो खोल्न सक्छु भनेर भन्न सक्दैन । पुल निर्माण गर्नुभन्दा पहिले त्यहाँसम्म जाने बाटो जोडिनुपर्ने थियो त्यो भएन ।’



सदरमुकाम जानका लागि दरौदी चोरकाटेबाट गोरखा बजार निस्किन त्यो बाटो सहज हुन्छ । सिरानचोकका वडा नम्बर ४ देखि ७ सम्मका जनतालाई बाटो बनेको खण्डमा सदरमुकाम जान सहज हुने उनले बताए । तर, बाटो कस्तो बन्छ भन्ने कुराले त्यो निर्धारण गर्ने अध्यक्ष गुरुङले बताए ।



  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १३:५८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया