\
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवं सांसद डा. भीमबहादुर रावलले सार्वजनिक पद धारण गरेका व्यक्तिले शपथग्रहणको पालना नगरे कारबाही हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा ‘शपथसम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता रावलले शपथग्रहण गरेका व्यक्तिले संविधान, कानुन, मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डताको खुलेआम उल्लंघन गरेको उल्लेख गरे । उनले उल्लंघन गर्ने व्यक्तिलाई कारबाही हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे ।
'शपथग्रहण गरेका व्यक्तिले शपथ भनेको त फगत एउटा औपचारिकता हो, गरे पनि हुन्छ, नगरे पनि हुन्छ भनेर संविधान, कानुन मिच्नेदेखि लिएर राष्ट्रिय हितमाथि प्रहार खुलेआम गर्ने, खुलेआम विदेशमा गएर वार्ता गर्ने, खुलेआम नेपालको मर्यादा, राष्ट्रिय हित, अस्मिता विपरित गतिविधि गर्ने काम तीव्र रुपमा हुन थाल्यो । विदेशीसँग साँठगाँठको काम तीब्र हुन थाल्यो । त्यसकारण यो शपथग्रहण साँच्चिकै जसले कार्यान्वयन गर्दैन, पालना गर्दैन । तीनलाई कारबाही हुने व्यवस्था यसमा हुन एकदमै आवश्यक छ’ उनले भने ।
उनले निर्वाचनमा तालमेल गर्ने कुरा गरेर सत्तारुढ दलहरू आफैँले लिएको शपथ विपरीत, संविधान र कानुन विपरीत, राष्ट्रिय हित प्रतिकूलका गतिविधि गरिरहेको भन्दै आपत्ति पनि जनाए ।
अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)देखि लिएर, एमसीसीदेखि लिएर भर्खरै केही समय अगाडि माथिल्लो कर्णालीमा जिएमआर कम्पनीसँग गरिएको सम्झौताको ठाडो उल्लंघन गरेर सरकारले कुनै हिच्किचाहट नगरी २ वर्ष म्याद थप गर्ने जस्ता राष्ट्रिय स्वाधिनतामाथि नै प्रहार गर्ने काम भईरहेको उल्लेख गर्दै नेता रावलले त्यस्ता व्यक्तिलाई तत्काल कारबाही हुनुपर्ने पनि बताए ।
नेता रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै विदेशी भूमिका गएर राष्ट्रिय अस्मिता विपरीतका गतिविधि गरेको आरोपसमेत लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।