थलारा गाउँपालिकाको वार्षिक आम्दानी १६ लाख, एक हप्ताको भ्रमण खर्च १० लाख
फरकधार / १९ साउन, २०७९

यही ९ साउनमा बझाङको थलारा गाउँपालिकाबाट जनप्रतिनिधि, कर्मचारी र पत्रकार गरी झण्डै चार दर्जनको टाेली मुस्ताङ भ्रमणमा निस्कियो । जसमा ९ जना वडा सचिव, १७ जना जनप्रतिनिधि, दुई पत्रकार र बाँकी कर्मचारी थिए ।



सात दिनको ‘अध्ययन, अवलोकन’ भ्रमण भनिए तापनि गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित, सूचना अधिकारी प्रकाश भण्डारीलगायत केही कर्मचारी अझै बझाङ फर्किसकेका छैनन् । 

जनताले भोट दिँदा औँलामा लगाएको मसी राम्रोसँग नमेटिँदै थलाराका जनप्रतिनिधि र कर्मचारी मुस्ताङ हानिएपछि सरोकारवालाले ‘मुखै छोडेर’ सामाजिक सञ्जाल भरी सत्तोसराप गरे । स्थानीयदेखि पूर्वसचिव भीम उपाध्यायसम्मले थलाराका प्रतिनिधिको खेदो खनेपछि भ्रमण टोलीले निर्धक्क फेसबुकमा फोटो पोस्ट गर्नसमेत पाएनन् ।



पर्यटन व्यवसायीहरू यति बेला मुस्ताङमा अफ सिजन चलिरहेको बताउँछन् । बेनीदेखि जोमसोमसम्म कच्ची सडक छ । बर्खाको समय मुस्ताङ घुम्नका लागि त्यति उचित नमानिने बताइन्छ । तर, थलाराको जम्बो टोली भने बेमौसममा नै शयरको साइत जुराएर मुस्ताङ पुगेको हो । बर्खाको समय भएकोले यात्रा कठिन भएको टोलीमै सहभागी एक कर्मचारी बताउँछन् । उनका अनुसार, बेनीबाट जोमसोम जानका लागि छुट्टै दुईवटा सानो गाडी भाडामा लिनु परेको थियो । 



विगतको पाँच वर्षमा सबैभन्दा बढी स्थानीय तहमा भ्रष्टाचार हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विश्लेषण छ । देशका प्रायः अधिकांश स्थानीय तहको आफ्नै आय स्रोत छैन । स्थानीय तहको आफ्नो आम्दानीले दुईजना कर्मचारीको तलबसम्म पनि खुवाउन नसकिने अवस्था छ । स्थानीय तहको आफ्नो आम्दानीले जनप्रतिनिधिको भत्तासम्म धान्न नसक्ने तितो यथार्थमा मुलुक चल्दै छ । 

महालेखा परीक्षकको प्रतिवेदन २०७९ अनुसार थलारा गाउँपालिकाको आन्तरिक आम्दानी १६ लाख ५९ हजार ५२ रुपैयाँ छ । यो रकम गाउँपालिकाको एक वर्षको जम्मा आन्तरिक आम्दानी हो । तर, नवनिर्वाचित प्रतिनिधि मण्डलले भने एक हप्ताको घुमफिरमा १० लाख खर्च गरेका छन् । गाउँपालिकाका सूचना अधिकारी र प्रशासकीय अधिकृतले १० लाख खर्च गरेको बताए पनि पालिका अध्यक्ष रोकायाले भने ९ लाख खर्च भएको बताएका छन् । यो रकम गाउँपालिकाको कूल वार्षिक आम्दानीको आधाभन्दा बढी हुन आउँछ ।

महालेखा परीक्षकले प्रत्येक वर्ष आफ्ना प्रतिवेदनमा प्रशासनिक खर्च नियन्त्रण गर्न र विकास खर्च बढाउनु पर्ने सुझाव दिने गरेको छ । तर, यी सुझावलाई जनप्रतिनिधिले अवलम्बन गरेको भेटिँदैन । अघिल्लो कार्यकालको सुरुवाती चरणमा जनप्रतिनिधिहरूले यसै गरी भ्रमणका नाममा करोडौँ रकम सकेका थिए । दोस्रो कार्यकालको पहिलो चौमासिकमै भ्रमण जानेमा थलारा गाउँपालिका सुदूरपश्चिम प्रदेशभरी अग्रस्थानमा आएको देखिन्छ ।

‘बिहानीले दिउँसोको सङ्केत गर्छ भने जस्तै निर्वाचित गाउँपालिका अध्यक्ष प्रकाश रोकाया नेतृत्वको कार्यपालिकाले यस प्रकृतिको निर्णय गर्दा गाउँपालिकाको भविष्य के हुने?,’ यहाँका स्थानीयले प्रश्न गरेका छन् ।  

महालेखा प्रतिवेदन २०७९ अनुसार थलारा गाउँपालिकाले यस वर्ष कूल आन्तरिक आयबाट १६ लाख ५९ हजार ५२ रुपैयाँ आम्दानी गरेको देखाएको छ । यस वर्ष पदाधिकारी सुविधामा ९० लाख ८० हजार पाँच सय खर्च भएको छ, जुन आन्तरिक आयको ५४७.३३ प्रतिशत रहेको छ । पालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ५८.४२ प्रतिशत चालु र ४१.५७ प्रतिशत मात्र पुँजीगत निर्माणमा खर्च भएको देखिन्छ ।

प्रशासनिक खर्च नियन्त्रण गर्दै प्राप्त अनुदान र राजस्व बाँडफाँडको रकम अधिक रूपमा विकास निर्माण प्रयोजनमा परिचालन गरिनुपर्ने सुझाव महालेखाले थलारा गाउँपालिकालाई दिएको छ । भ्रमणको उद्देश्य मुस्ताङको स्याउ अवलोकन गर्नेलगायत भएको गाउँपालिका उपाध्यक्ष राम खाती बताउँछन् । तर, यो आर्थिक वर्षमा गाउँपालिकाले ‘स्याउ’ शीर्षकमा एक पैसा पनि बजेट विनियोजन गरिएको छैन ।

गाउँपालिकामा स्याउ रोप्न बजेट विनियोजन नगर्ने तर मुस्ताङका स्याउ हेर्न १० लाख खर्च गरिएको सन्दर्भले भ्रमणको औचित्य पुष्टि गर्न नसक्ने कतिपय बताउँछन् । यद्यपि गाउँपालिका अध्यक्ष प्रकाश रोकाया भने स्याउ हेर्न मात्र मुस्ताङ नगएको जिकिर गर्छन् । भ्रमणको औचित्य के हो भन्ने बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पण्डितले भने मुख खोल्न चाहेनन् ।

भ्रमणको औचित्य के हो भनेर पण्डितलाई मौखिक प्रश्न गर्दा उनले लिखित निवेदन पेस गर्न उर्दी जारी गरे । सञ्चारकर्मीको प्रश्नको मौखिक जवाफ दिन नसक्ने कार्यकारीले निजामती कर्मचारीको ‘व्यावसायिक र सृजनशील प्रशासन: विकास, समृद्धि र सुशासन’सँग मिल्न जाँदैन ।

सञ्चारकर्मीको सवालमा अनुत्तरदायी बनेका पण्डितले कसरी गाउँपालिकामा सुशासन कायम गर्लान्? उनको व्यवसायिक र पेसागत कर्ममाथि प्रश्न उठेको छ । पण्डितको पेसागत कार्यशैली राम्रो नभएको गुनासो स्थानीयले समेत गर्ने गरेका छन् । 

  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १५:१९:३०,   अन्तिम अपडेट : साउन १९, २०७९ बिहीबार १६:३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया