डाक्नेश्वरी नगर उपप्रमुख मीराविरुद्ध उजुरी,  भारतीय नागरिक रहेको आरोप

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव भारतीय नागरिक रहेको दाबी गर्दै उजुरी परेको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट डाक्नेश्वरी नगरपालिकाको उपप्रमुखमा निर्वाचित यादवविरुद्ध कीर्ते गरी नागरिकता लिएको आरोपसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको हो ।

‘प्रशासनमा उजुरी दर्ता भएको सुनेको छु,’ सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।

उपमेयर यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको उजुरीमा दाबी गरिएको छ ।

मीरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नागरिकता लिएको आरोप उजुरीमा लगाइएको छ ।

भारतको निर्वाचन नामावली २०२२ मा मीराको नाम रहेकाे दाबी गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेस गरेको शपथपत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचानपत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाणको रुपमा उजुरीमा समावेश गरिएको छ ।



तर, प्रमाणको रुपमा पेस गरिएका कागजात र आरोपको सत्यता अनुसन्धानबाट मात्र खुल्ने भएकाले अहिले नै दोषीको रुपमा हेर्न नमिल्ने सहायक प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।



  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १९:२६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया