संघीय निर्वाचनमा कहाँबाट उम्मेदवार बन्लान् नैनसिंह महर ?

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति तय गरेसँगै नेताहरु पार्टीभित्र टिकट पाउनको लागि लबिङ गर्न थालेका छन् । टिकट पाउने निश्चित भएका नेताहरु उम्मेदवारी घोषणा नै गरिरहेका छन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आगामी संघीय निर्वाचनमा उम्मेदवार बन्ने स्पष्ट पारेका छन् । शनिबार फरकधारसँग कुरा गर्दै नेता महरले आफू संघीय चुनावको उम्मेदवार बन्ने कुरामा दुई मत नरहेको बताए । 

नेता महर डडेलधुराको भागेश्वर गाउँपालिका वडा नं ३ का स्थायी बासिन्दा हुन् । जुन डडेलधुराको निर्वाचन क्षेत्र नं. १ अन्तरगत पर्छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र पनि डडेलधुरा १ नै भएकोले महरले अन्य निर्वाचन क्षेत्रबाट चुनाव उठ्नु पर्ने बाध्यता छ । 

संघीय निर्वाचनमा उम्मेदवार बन्ने विषयमा दुई मत नभएको तर, कहाँबाट उठ्ने भन्नेबारेमा केही विकल्प रहेको महर बताउँछन् । कञ्चनपुर १, कैलाली ४, र काठमाडौं ५ मध्ये कुनै एक क्षेत्रमा आफ्नो दाबेदार रहने नेता महरले जानकारी दिए । ‘चुनाव लड्ने नै हो । तर, अहिले नै निर्वाचन क्षेत्र तोक्न सकिने अवस्था छैन । अहिले हाम्रो गठबन्धनको भागबण्डा नै भएको छैन,’ उनले भने, ‘हामी जस्ता नेशनल फिगरले पार्टीलाई आवश्यक भएको ठाउँबाट उठ्न सक्नु पर्छ । आन्तरिक कुरा भइरहेको छ । कञ्चनपुर १, कैलाली ४, र काठमाडौँ ५ मध्ये कुनै एक क्षेत्रमा मेरो दाबेदार रहन्छ ।’

चुनावमा युवाहरूको उपस्थिति हुनु पर्छ भन्नेबारेमा आफ्नो स्पष्ट धारणा रहेको महरले बताए । पार्टीको केन्द्रीय समिति बैठकमा अबको चुनावमा ७० प्रतिशत युवाहरूलाई उम्मेदवार बनाउनुपर्छ भन्ने प्रस्ताव पेस गरेको महर बताउँछन् । बारम्बार एउटै व्यक्ति सांसद, मन्त्री, प्रधानमन्त्रीमा दोहरिँदा प्रभावकारी नभएको र नयाँ जोसजागर भएका व्यक्तिले देशको लागि काम गर्न नपाएको महरको तर्क छ । उनी भन्छन्, ‘मैले केन्द्रीय समिति बैठकमा नै ६० वर्ष मुनिका ७० प्रतिशत भन्दा बढी उम्मेदवार बनाउनु पर्छ भनेको छु । युवाहरू राजनीतिमा आउनु पर्छ ।’नेता महरले केही दिनमा आफ्नो उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको समेत जानकारी दिएका छन् । 

महरले ०४६ सालमा डडेलधुराको रुपालस्थित असीग्राम माविमा अध्ययन गर्दा बाटै विद्यार्थी राजनीति यात्रा सुरु गरेका थिए । उनले संघको एकाइ अध्यक्षबाट यात्रा सुरु गरेका हुन् । त्यसपछि ०५६ सालमा नेविसंघको डडेलधुरा अध्यक्ष, ०५७ मा केन्द्रीय सदस्य, ०६४ सालमा केन्द्रीय उपाध्यक्ष र ०७३ मा नेविसंघको अध्यक्षमा निर्वाचित भएका हुन् ।



नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको खुला केन्द्रीय सदस्यको निर्वाचनबाट महर पार्टीको केन्द्रीय सदस्य बनेका थिए  । महर महरले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।  उनले नेपाल विद्यार्थी संघको इतिहासबारे किताबसमेत लेखेका छन् ।

महर विद्यार्थी राजनीतिसँगै पत्रकारिता पनि गर्थे । उनले केही समय कान्तिपुर दैनिकको डडेलधुरा सम्वाददाताका रूपमा काम गरेका थिए । नेपाल पत्रकार महासंघ डडेलधुरा शाखाका उनी संस्थापक अध्यक्षसमेत हुन् । 



  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार १३:३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया