जापान पुगेर प्रचण्डले आबेले नेपाल भ्रमण गर्दा दुई/तीन पटक कुराकानी गरेको हुँ भन्दै झुट बोले

जापान भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झूट बोलेका छन् ।

जापानको राजधानी टोकियोमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले जापानको स्वर्गीय पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग नेपालमा भ्रमणका बेला कुराकानी गरेको भन्दै झूट बोलेका हुन् ।

उनले जापानका पूर्वप्रधानमन्त्री आबेलाई सम्झिँदै उनीसँग भेट्ने इच्छा भने पूरा नभएको बताए । त्यसबैला उनले 'उहाँ नेपाल भ्रमण गर्दा दुई/तीन पटक कुराकानी भएको थियो' भन्‍दै झूट बेलाका हुन् ।

नेपालस्थित जापानी राजदूतावासका अनुसार आबे नेपाल भ्रमणमा आएका थिएनन् । नेपालमा सन् २००० मा जापानका प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिए । सोही वर्षको अगस्टमा जापानका प्रधानमन्त्री योसिरो मोरीले नेपाल भ्रमण गरेका थिए । त्यसयता जापानी प्रधानमन्त्री नेपाल आएका छैनन् । अध्यक्ष प्रचण्डले आबे प्रधानमन्त्री हुँदा नेपालमा दुई/तीन पटक भेटेको भन्दै झूट बोलेका छन् ।

उनले भनेका थिए :

जापान आउने निर्णय भइसकेपछि मेरो इच्छा के थियो भने  आबे जो पूर्वप्रधानमन्त्री उहाँलाई भेट्ने भनेर मिलाउन कोसिस गर्दै थिए । जापानको राजदूतसँग पनि उहाँ दूतावासमार्फत पनि कुरा भएको थियो । किनकि पूर्वप्रधानमन्त्रीको हैसियतले उहाँ नेपाल भ्रमण गर्दा दुई/तीन पटक कुराकानी भएको थियो र असाध्यै राम्रो सम्बन्ध भएको थियो एक अर्काप्रति । एक अर्का प्रति इन्ट्याक्सन राम्रो भएको थियो र उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई अर्को हाइटमा कसरी लाने भन्ने इच्छा थियो । त्यो चाहिँ पूरा भएन । दुर्भाग्य पूर्ण घटना जापानका लागि विरलै हुन घटना हो । यसको विश्वव्यापी पनि इम्प्याक्ट परेको छ । म उहाँप्रति विशेष सम्मान पनि भन्न चाहन्छु ।



जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिभलको  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दा भने आबेबारे बोले पनि नेपाल भ्रमण गरेको भन्ने विषयमा भने केही बोलेनन् । यस्तो छ उनले फुकुओकामा गरेको सम्बोधन :

जापान आउने निर्णय भइसकेपछि मेरो जापानका पूर्वप्रधानमन्त्री आबेसँग विभिन्न रूपले सम्पर्क र कुराकानी हुने गरेको थियो । उहाँसँग मेरो विशेष मित्रको सम्बन्ध हुन पुगेको थियो र मैले जापानमा आएको बेलामा उहाँसँग भेटेर फेरि एकचोटि प्रत्यक्ष कुरा गर्ने इच्छा मैले जापानी राजदूतावासमार्फत पुर्‍याएको पनि थिएँ । तर, दुर्भाग्य उहाँको यहीबीचमा बडो दुर्भाग्य पूर्ण अवसान भयो । म उहाँलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु । शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु । जापानमा दुर्लभ बडो हुनै नहुने घटनाको रूपमा त्यो घट्यो । हामी सबैलाई त्यसको दुःख छ ।



  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार १३:५९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया