पार्टी निर्णयविपरीत फेरि बालुवाटारमा बस्न थाल्यो कांग्रेस बैठक

पार्टीको १४औं महाधिवेशनलगत्तै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्ने निर्णय गरेका थिए । सो निर्णलगत्तै कांग्रेसको पदाधिकारीदेखि केन्द्रीय समिति बैठकसमेत पार्टी कार्यालय सानेपामा बस्न थालेको थियो ।

असारसम्म पार्टी सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यालयमा हुने बैठकमा सहभागी हुने गरेका थिए । प्रायः बैठक उनले सानेपामै बस्ने गरी डाकेका थिए । तर, अहिले फेरि उनी पुरानै बाटोमा फर्किएका छन् । 

अर्थात् पार्टीको बैठक बालुवाटारमै डाक्न थालेका छन् । जसअनुसार सोमबार कांग्रेस पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।

अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीले एमाले र तत्कालीन नेकपाको प्रायः सबै बैठक बालुवाटारमै राख्ने गर्थे । जसकारण राज्यलाई अतिरिक्त आर्थिक भार थपिने गरेको थियो । बालुवाटारबाटै सरकार र पार्टी चलाएको भन्दै ओली निकै आलोचित भएका थिए । सर्वसाधारण जनता ओलीको सो निर्णयबाट निकै रुष्ट बनेका थिए । 

ओली यसरी आलोचित बनेको देखेपछि कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले पार्टीको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाउने निर्णय गरेका थिए । तर, पार्टी सभापति देउवाले सोमबार पहिलेको निर्णय लत्याएका छन् । 

स्रोतका अनुसार पार्टी उपसभापति पूर्णबहादुर खड्का कोरोना संक्रमित भई निवासमै आइसोलेसनमा बसेपछि देउवाले बालुवाटारमा पदाधिकारी बैठक राखेका हुन् । यसअघिका सबै बैठकमा देउवाले उपसभापति खड्कालाई आवश्यक निर्णय गर्ने जिम्मेवारी दिएका थिए ।





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार १७:१७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया