मधेसका गृहमन्त्रीले भने ‍- आइतबारदेखि संघीय सरकारविरुद्ध सडक आन्दोलन गर्छौँ
भरतप्रसाद साह, गृह तथा सञ्चार मन्त्री, मधेस प्रदेश

मधेस प्रदेश सरकारले भोलि (आइतबार)देखि संघीय सरकारविरुद्ध आन्दोलन गर्न लागेको छ । शनिबार मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणमा आइतबारदेखि संघीय सरकारविरुद्ध सडक आन्दोलन थाल्ने बताएका हुन् । 

मन्त्री साहले आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने जानकारी दिए । उनले आइतबारदेखि एक हप्तासम्म प्रत्येक दिन सोही समयमा धर्ना दिने उद्घोष गरे । 

धर्नामा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभाका सदस्यहरू, नागरिक समाजका अगुवाहरूलगायत सबै पक्षको सहभागिता रहने मन्त्री साहले बताए । उनले एक हप्तासम्ममा पनि संघीय सरकारको ध्यानाकर्षण नभए दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने चेतावनीसमेत दिएका छन् । 

संघीय गृह मन्त्रालयले प्रहरी समायोजनको सम्पूर्ण काम पूरा गरिसकेको र नेपाल सरकारले निर्देशन दिए सात दिनभित्र समायोजन गर्न सकिने बताइसकेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव अघि समायोजन सम्भव नभएको आशयको प्रतिक्रिया दिएको मन्त्री साहले बताए । 

मन्त्री साह आफूहरूको आन्दोलनमा अन्य ६ प्रदेशको समेत साथ रहेको बताउँदै जनकपुरधाममा भएको सबै प्रदेशका गृहमन्त्रीको सामूहिक घोषणा पत्रले पनि स्पष्ट गरिरहेको दाबी गरे । 
मन्त्री साहले प्रदेश प्रहरी समायोजन र प्रमुख जिल्ला अधिकारी प्रदेश मातहत ल्याएर मात्र चुनावमा जानुपर्ने अन्यथा आफूहरूको आन्दोलन संघसम्म पुग्ने भएकाले चुनाव समेत प्रभावित हुने बताए ।

मन्त्री साहले संविधानले प्रदेश सरकारलाई दिएको अधिकारसमेत संघीय सरकारले खोस्ने, अपव्याख्या गर्ने र आश्वासन मात्रै दिने गरेकाले प्रदेश सरकार संघर्षमा उत्रिन बाध्य भएको बताए । 
यसअघि, २२ साउनमा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्य, सांसदसहित सामूहिक रूपमा प्रदेश प्रहरी समायोजनका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापन पत्र बुझाएर संघीय सरकारलाई सात दिनको अल्टिमेटम दिएका थिए । 



मधेश सरकारको अगुवाइमा गत असार २३ गते ६ वटा प्रदेशका गृहमन्त्रीको भेला गरेर प्रहरी समायोजन ऐन र प्रहरी समन्वयसम्बन्धी ऐनको आधारमा संघीय सरकारले साउनभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको थियो ।



  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १२:३०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया