इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनलले लगातार दोस्रो जित हात पारेका छन् । साविक विजेता सिटीले बर्नमाउथ तथा आर्सनलले लेस्टर सिटीलाई हराउँदै लगातार दोस्रो जित हात पारेका हुन् ।
सिटीले बर्नमाउथलाई ४–० ले पराजित गर्यो । घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई जित दिलाउन इल्के गुन्डोगन, केभिन डी ब्रुएना र फिल फोडेनले एक/एक गोल गर्दा एक गोल गरे । उसले आत्मघाती उपहार स्वरूप प्राप्त गर्यो ।
खेलको १९ औं मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा ब्रुएनाले टोलीको अग्रता दोब्बर बनाए । ३७ औं मिनेटमा फोडेनले गोल गर्दै पहिलो हाफमा सिटीलाई ३–० को आरामदायी अग्रता दिलाए । ७९ औं मिनेटमा जेफर्सन लेर्माले आत्मघाती गोल गरेपछि घरेलु टोलीले ४–० को फराकिलो जित निकाल्यो ।
जितसँगै दुई खेलमा ६ अंक जोडेको सिटी शीर्ष स्थानमा रहँदा पहिलो पराजय बेहोरेको बर्नमाउथ समान खेलबाट तीन अंकका साथ १० औं स्थानमा छ । त्यस्तै, आर्सनलले घरेलु मैदान इमिरेट्स स्टेडयिममा लेस्टर सिटीविरुद्ध ४–२ को सहज जित निकाल्यो ।
आर्सनललाई जित दिलाउन गाब्रियल जिससले दुई तथा ग्रानिट जाका र गाब्रियल मार्टिनेलीले एक/एक गोल गरे । लेस्टरका जेम्स म्याडिसनले एक गोल फर्काउँदा एक गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो ।
खेलको २३ औं र ३५ औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा विलियम सलिबाले आत्मघाती गोल गरेपछि खेल २–१ को अवस्थामा आयो । ५५ औं मिनेटमा साकाले आर्सनलाई ३–१ ले अगाडि बढाए ।
७४ औं मिनेटमा म्याडिसनले लेस्टलाई ३–२ को स्थितीमा ल्याए । ७५ औं मिनेटमा मर्टिनेलीले गोल गरेपछि घरेलु टोलीले ४–२ को सहज जित निकाल्यो । यो जितसँगै दुई खेलमा ६ अंक जोडेको आर्सनल दोस्रो स्थानमा रहँदा पहिलो पराजय बेहोरेको समान खेलबाट लेस्टर एक अंकका साथ १४ औं स्थानमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा एस्टन भिल्लाले एभर्टनलाई २–१ ले हराउँदा सायथह्यामटनले लिड्स युनाइटेडसँग २–२, ब्राइटनले न्युकासल युनाइटेड तथा उल्भ्सले फुलहमसँग गोलरहित बराबरी खेले ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।