माथिल्लो दोर्दी ‘ए’ निर्माण सम्पन्न, प्रसारण लाइन नबन्दा विद्युत् उत्पादन भएन
फाइल तस्बिर

लमजुङको दोर्दी खोलामा निर्माणाधीन २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । लिबर्टी इनर्जीद्वारा निर्मित सो आयोजना निर्माण पूरा गरी संरचना परीक्षणसमेत सकिएको छ । सम्पूर्ण काम सकिए पनि प्रसारण लाइन नहुँदा विद्युत् उत्पादन हुन सकेको छैन । 

दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको आयोजनाको हेडवक्ससँगै बाँध क्षेत्र, पावर हाउस, इलेक्ट्रोमेकानिकल लगायत संरचना निर्माण सम्पन्न भइसकेको छ । असोज २०७१ सालबाट निर्माण थालिएको यो आयोजनाले असोज मसान्त २०७४ देखि व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको थियो । तर पटक–पटक निर्माण कार्य प्रभावित हुँदा निर्धारित समयमा पूरा हुन सकेन । 

आयोजनाबाट उत्पादित विद्युत् दोर्दी कोरिडोरको १३२ केभी राष्ट्रिय प्रसारण लाइनबाट मर्स्याङ्दी कोरिडोरको २२० केभी प्रसारण लाइनमा जोडिनेछ । तर, राष्ट्रिय विद्युत् प्रसारण लाइन निर्माण सम्पन्न नहुँदा विद्युत् उत्पादन गर्न नपाइएको आयोजनाले जनाएको छ ।

अघिल्लो वर्षको असारमा आएको बाढीले क्षति पुर्‍याएको सो आयोजनामा मर्मत सकिएसँगै संरचना परीक्षण गरिएको आयोजना प्रवर्द्धक राजेन्द्र बस्तीले बताए । आयोजनामा टनेल, इनटेन्क लगायतका संरचना परीक्षण गरिएको र अब विद्युत् उत्पादन गर्न मात्रै बाँकी रहेको बस्तीले बताए ।

सो आयोजना विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र पटक पटक बाढीका कारण निर्माण अवधि लम्बिँदै आएको हो । हाल आयोजनाको बाँध स्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेन स्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत गृहमा पुर्‍याई विद्युत् उत्पादनको तयारी भएको छ ।

आयोजनाको चार अर्ब ६३ करोडभन्दा बढी रकम लागत रहेको छ । १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा पेल्टन टर्बाइन रहेको यस आयोजनामा हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र बर्खाको समयमा चार रुपैयाँ ८० पैसा रहने गरी प्रवर्द्धन कम्पनी लिबर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपीए)भएको छ। 





  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार १३:५५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया