प्रचण्ड, भीम रावल र राजेन्द्र महतोको नजरमा प्रदीप गिरि

विभिन्न राजनीतिक पार्टीका नेताले कांग्रेस नेता एवं प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधनबाट मुलुकमा अपूरणीय क्षति भएको बताएका छन् ।

आइतबार कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले नेता भीमबहादुर रावल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोलगायतका नेताले प्रखर समाजवादी चिन्तकसमेत रहेका गिरिको निधन मुलुकका लागि ठूलो क्षति भएको बताएका हुन् । 

गिरिबारे प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष दाहालले गिरिको बौद्धिक व्यक्तित्व र तर्कशीलता सबैका लागि प्रेरणाको स्रोत रहेको बताए । उनले राजनीतिलाई जनता र राष्ट्रको सेवा गर्ने माध्यमको रूपमा लिनुपर्ने कुरालाई पनि गिरिबाट प्रेरणा लिन सकिने बताए । अध्यक्ष दाहालले गिरीको समाजवादी चिन्तनबाट सिकेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । 

प्रचण्डकै शब्दमा

नेपालको राजनीति र सामाजिक रूपान्तरणको अभियानमा एउटा निकै ठूलो क्षति भएको मैले महसुस गरेको छु । उहाँ एउटा विशिष्ट प्रतिभासहितको समाजवादी चिन्तक हुनुहुन्थ्यो । उहाँले नेपाली समाजको रुपान्तरणका निम्ति काम गर्नुभयो । उहाँको बौद्धिक व्यक्तित्व र उहाँको तर्कशीलता हामी सबैको निम्ति प्रेरणाको स्रोतको रुपमा सदा रहने मैले विश्वास लिएको छु । उहाँको अभाव धेरै समयसम्म खटकी रहनेछ । 



हामीले उहाँको योगदानबाट प्रेरणा लिने र उहाँले समाजवादको निम्ति जेजस्ता चिन्तन गर्नु भयो, त्यसबाट शिक्षा लिएर अघि बढ्नुको विकल्प हामीसँग छैन । प्रदीप गिरिजीको व्यक्तित्वले हामी सबैलाई निःश्वार्थ समाजसेवामा समर्पित हुने र राजनीतिलाई फोहोरी खेल होइन्, एउटा समाज सेवाको, जनता र राष्ट्रको सेवा गर्ने माध्यम हो भन्ने प्रेरणा उहाँबाट लिनुपर्छ ।

गिरिबारे भीम रावल



नेकपा (एमाले)का नेता भीमबहादुर रावलले नेता गिरिलाई एउटा बौद्धिक र लोकतन्त्रका लागि निरन्तर संघर्षरत योद्धाको रुपमा नेपाली समाजले सम्झिरहने बताए । कार्यकारी पद र प्रतिष्ठा नभए पनि नेता सम्मानित हुन सक्छन भन्ने कुरा पनि गिरिले पुष्टि गरेको उनको भनाइ थियो । 

रावलकै शब्दमा

नेपाली कांग्रेसका नेता, प्रतिनिधिसभा सदस्य तथा बौद्धिक व्यक्तित्व प्रदीप गिरिजीले नेपाली राजनीतिमा निकै ठूलो छाप छोड्नु भएको छ । र, उहाँले जुन किसिमको आफ्नो सिद्धान्तमा अडिग भएर लोकतन्त्रका लागि काम गर्नुभयो । उहाँलाई एउटा बौद्धिक र लोकतन्त्रको लागि निरन्तर संघर्षरत योद्धाको रुपमा म स्मरण गर्छु ।

गिरिबारे राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले स्वर्गीय नेता गिरीलाई देश र जनताप्रति समर्पित नेताको रुपमा चित्रण गरे । 

गिरि सिद्धान्तनिष्ट र आर्दशवादी नेता भएको र उनको निधन मुलुकका लागि अपूरणीय क्षति भएको पनि उनले बताए । 

नेता महतोले देश र जनताको हितका लागि काँग्रेस भित्रै पनि गिरीले पटक पटक विद्रोह गरेको स्मरण गराए

महतोकै शब्दमा

उहाँलाई देशले सदा सम्झि रहनेछ । यो अपूरणीय क्षति हो देशका लागि । उहाँ सिद्धान्तनिष्ट, आर्दशवादी नेता हुनुहुन्थ्यो सम्पूर्ण देश र जनताका लागि । उहाँले काँग्रेसको नेता भएपनि देश र जनताको हितका लागि निर्भिकताका साथ विद्रोह गर्ने एक मात्रै नेता हुनुहुन्थ्यो ।’

  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार १७:३८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया