शिक्षकलाई मन्त्रालयका कर्मचारीसरह सुविधा दिने गरी अघि बढेका छौँ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारको अभियान थालिएको बताएका छन् । आइतबार ज्ञानोदय माविको ३५ कोठे भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार अभियान सुरु भएको बताए । 

‘१० वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौँ,’ मन्त्री पौडेलले भने, ‘१२ हजार  विद्यालयको भौतिक संरचना बनिसकेका छन्, अब तीन वर्षमा भौतिक पूर्वाधारको काम सक्ने गरी अघि बढ्छौँ ।’
विद्यालयको भौतिक पूर्वाधारसँगै कानुनी सुधार र शिक्षण सिकाइ प्रक्रियाको सुधार मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै उनले विद्यालय सुधार गर्न साझा संकल्प गर्नुपर्ने बताए । 

‘शिक्षकहरूका सेवा सुविधामा समस्या होलान्, तर मन्त्रालय कर्मचारीसरहको सेवा सुविधा दिनेगरी अघि बढेको छ’, उनले भने, ‘शिक्षा मन्त्रालय कर्मचारीको मात्र नभई शिक्षक साथीहरुको हो ।’ दुई हजारभन्दा बढी विद्यार्थी भएका विद्यालयमा बसको व्यवस्था, दरबन्दी मिलानलगायत समस्यामा मन्त्रालयले विशेष ध्यान दिने उनले आश्वासन दिए ।
 
उच्च शिक्षालाई जोड्न विद्यालय शिक्षासँग प्राविधिक शिक्षा जोड्ने प्रक्रिया गत वर्षदेखि सुरुवात भएको बताउँदै उनले यस वर्ष थप एक सय विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने बताए । ‘१ सय ४० विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम चलिरहेको छ,’ मन्त्री पौडेलले भने, ‘यस वर्ष थप सय विद्यालय छनोट गरी सीपलाई रोजगारसँग जोड्छौँ ।’

मन्त्री पौडेलले शिक्षा सुधार गर्ने जिम्मेवारी शिक्षकहरुको भएको बताउँदै उनीहरुलाई गाली गरेर नभई अधिकार, माया र प्रोत्साहन गर्नुपर्ने तर्क गरे । सार्वजनिक शिक्षा सुधारका लागि शिक्षक ‘होम टु, भिजिट’को प्रक्रिया थाल्नुपर्र्नेे उनको भनाइ छ । 

‘शिक्षकहरुलाई संस्थागत विद्यालयले भन्दा नीजिले सेवा सुविधा कम दिएका छन्,’ मन्त्री पौडेलले भने,‘कम सेवा सुविधा भए पनि शिक्षकको मिहिनतले विद्यार्थीको आकर्षण निजीमा भएको देखिन्छ ।’

सोही कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सार्वजनिक शिक्षालय सुधार गर्ने काममा महानगरपालिका लागिरहेको बताइन् । 



सार्वजनिक विद्यालयको गुणस्तरमा थप सुधार गर्ने महानगरपालिकाको योजना रहेको बताउँदै उनले विद्यालय सुधारका लागि महानगरले सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरिन् । 

यस्तै, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले सही नेतृत्व हुँदा विद्यालयको गुणस्तरमा परिवर्तन आउने बताए । हिजोका गल्तीकमजोरीलाई सच्चाउँदै विद्यालयको नक्सांकन, दरबन्दी मिलानलगायतका विषयमा महानगरले ध्यान दिनुपर्ने उनको सुझाब छ । 



नवर्निमित ३५ कोठे विद्यालयको भवन ३ करोड ५० लाख लागतमा सम्पन्न भएको छ । विद्यालयका प्रअ नातिकाजी महर्जनका अनुसार काठमाडौं महानगरपालिकाको १ करोड, महायज्ञबाट ६७ लाख, बागमती प्रदेशबाट ९० लाख, जिल्ला शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट २९ लाख, प्रदेश सांसद विकास कोषबाट ५० लाख, जिल्ला शिक्षा, समन्वय एकाइबाट २१ लाख सहयोग प्राप्त भएको थियो । 

एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको विद्यालयमा साइन्स, म्यानेजमेन्ट, ल, र सिभिल इन्जिनियरिङको पढाइ हुने गरेको छ । हाल विद्यालयमा ४ हजार २ सय विद्यार्थी अध्ययनरत रहको प्रअ महर्जनको भनाइ छ । 
 

  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार १८:२४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया