डा. साहमाथि कुटपिट : दोषीलाई कारबाहीको माग गर्दै धनुषाका स्वास्थ्यकर्मी आन्दोलित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. करण साहमाथि भएको कुटपिटको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै धनुषाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन् ।
 
‘अन्याय पोल्छ, न्याय बोल्छ’, स्वास्थ्यकर्मी कुट्न पाइँदैन, जेल विथआउट बेल लागू गरलगायतका नारा लेखिएको प्लेकार्डसहित उनीहरू आइतबार सडकमा उत्रिएका हुन् ।
 
नेपाल चिकित्सक संघ जनकपुरधाम शाखाका अध्यक्ष डा. रामनरेश पण्डित नेतृत्वको चिकित्सकको टोली प्रादेशिक अस्पताल जनकपुरबाट जानकी मन्दिरसम्म शान्तिपूर्ण प्रदर्शन गरेका छन् । कुटपिट गर्ने व्यक्तिलाई स्वास्थ्य ऐन बमोजिम कारबाही हुनुपर्ने उनीहरूको माग छ ।

उनीहरू अस्पतालभित्र सुरक्षित रुपमा काम गर्न पाउनुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा. करण साहमाथि गत बिहीबार अस्पताल प्रशासनका कर्मचारी धनबहादुर शाहीले हातपात गर्दै ज्यान मार्ने धम्कीसमेत दिएका थिए । सोही घटनाको विरोधमा यहाँका चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका हुन् ।

‘हामी डा. करण साहमाथि अस्पताल प्रशासनका कर्मचारीले हातपात गरेको तथा ज्यान मार्ने धम्कीसमेत दिएको घटनाप्रति सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरू मर्माहत छौँ,’ अध्यक्ष डा. पण्डितले भने, ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा अनवरत रुपमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने अमार्यादित कार्यले मनोबल गिरेको छ । काम गर्ने वातावरण प्रतिकुल बन्दै गएको छ । त्यसैले प्रतिष्ठानमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाहीको माग गर्छौं ।’ 

विरोध प्रदर्शनमा नेपाल चिकित्सक संघ जनकपुरधाम शाखाका अध्यक्ष डा. रामनरेश पण्डित, प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोद यादव, डा. सज्जन ठाकुर, डा. अनिल ठाकुर, डा. अश्विनिकुमार झा, डा. अमित रञ्जन मिश्र, डा. रामजी यादव, डा. अमित सिंह, डा. रामज्ञान यादवलगायत दर्जनौँको संख्यामा चिकित्सक र स्वास्थ्यकर्मीहरूको सहभागिता थियो ।
 
गत बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासनका कर्मचारी धनबहादुर शाहीले आफ्नो छोराको टाँका नकाटेको भन्दै डा. साहमाथि हातपात गरेका थिए ।





  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार २२:१०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया