चिकित्सा शिक्षा विधेयक सरकारकाे ‘महत्वपूर्ण उपलब्धि’ : शिक्षामन्त्री

काठमाडौं– चिकित्सा शिक्षा विधेयकलाई सरकारले ‘महत्वपूर्ण उपलब्धि’को रुपमा अर्थ्याएको छ ।

आइतबार रिपोर्टर्स क्लबमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच शुक्रबार प्रतिनिधिसभाबाट पास भएको विधेयक सरकारको महत्वपूर्ण उपलब्धि भएको जिकिर गरे । 

अहिलेसम्मका कुनै सरकारले बनाउन नसकेको चिकित्सा शिक्षा विधेयक आफ्नो सरकारले बनाएको भन्दै मन्त्री पोखरेलले विधेयकलाई सफलताको रुपमा अर्थ्याए ।

डा. गोविन्द केसीसँग  गरिएको सम्झौताअनुरुप नै विधेयक बनेको दाबी गर्दै उनले भने, ‘अहिलेसम्म भएका सम्झौताको सार तत्वलाई खिचेर यो विधेयक बनेको छ ।’

डा. केसीका कारण नै चिकित्सा विधेयक बनेको बताएका पोखरेलले केसीलाई सहयोगका लागि धन्यवाद भन्नसमेत भ्याए । ‘यसमा सहयोग गर्ने डा. केसीलाई पनि धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘उहाँको कारणले नै यो विधेयक बन्न सकेको हो ।’

मन्त्री पोखरेलले केसीसँगको सम्झौताअनुसार नै विधेयक तयार गरेको बताइरहँदा केसी भने २० दिनदेखि विधेयकको विरोधमा अनशनमा छन् ।



केसीसँग गत साउनमा आशयपत्र लिइसकेका मेडिकल कलेज पनि बन्द गर्ने सम्झौता भएको थियो । तर, शुक्रबार पास भएको विधेयकमा भने आशयपत्र लिइसकेका कलेज चलाउन पाउने व्यवस्था छ ।

मन्त्री पोखरेलले आशयपत्र दिइसकेका मेडिकल कलेज खारेज गर्नु प्रजातान्त्रिक पद्धतिको विरोधमा हुने बताए । ‘विगतमा दिइएका आशयपत्रलाई खारेज गर्न सकिँदैन । यसो गर्दा कानुनको उल्लंघन हुन्छ,’ उनले भने, ‘रुल अफ ल’मा त्यसो गर्न मिल्दैन ।’ 



डा. केसीसँग भएको सम्झौताअनुसार नै विधेयक ल्याएको दोहोर्याउँदै मन्त्री पोखरेलले केसीलाई विरोधीहरुले उकासिरहेको आरोप लगाए । केसीले अहिले उठाएका मुद्दा पनि केसीको नभएको उनको दाबी छ । ‘डा. केसी अहिले जुन मुद्दा लिएर आउनुभएको छ, त्यो उहाँको मुद्दा होइन । उनले प्रयोग गरिरहेका कुरा धेरै भारी छन्, जसमा उनलाई अरु कसैले उकासिरहेको छ ।’ 

  • प्रकाशित मिति : माघ १३, २०७५ आइतबार १८:२१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया