कलाकारहरूमा पनि बढ्यो चुनावी सरगर्मी, को कहाँबाट उठ्दैछन् ?

संसदीय चुनावको मिति घोषणा भएपछि उम्मेदवारी घोषणाको लहर सुरु भएको छ । राजनीतिकर्मी, सञ्चारकर्मी, कलाकार तथा विभिन्न पेसा व्यवसायमा आवद्ध व्यक्तिहरू कोही दलबाट र कोही स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका छन् । सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल नै खोलेर चुनावी अभियानमा छन् । 

आगामी ४ मंसिरका लागि तोकिएको संसदीय चुनावले नेपाली कलाकारिता क्षेत्रमा पहिचान बनाएका कलाकारलाई समेत छोएको छ । हालै सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरमा बालेन साह र धरान उपमहानगरमा हर्क राईजस्ता स्वतन्त्र उम्मेदवार विजयी भएपछि नेपाली राजनीतिमा स्वतन्त्र उम्मेदवार उठे जितिन्छ भन्ने मानसिकता पनि बढेको छ । 

चुनावको मिति नजिकिँदै गर्दा कलाकारहरू विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने धमाधम घोषणा गरिरहेका छन् ।

नेपाली फिल्मकी अभिनेत्री, निर्माता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरिसेका छन् । थापाले मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । 

पार्टीको स्थानीय समितिले प्रतिनिधिसभा उम्मेदवारमा थापालाई यसअघि नै उम्मेदवारमा सिफारिस गरेको थियो । १४ भदौमा थापा स्वयं मोरङ क्षेत्र नम्बर ३ पुगेर उम्मेदवारी घोषणा गरेकी हुन् ।

मोरङ क्षेत्र नम्बर ३ की स्थानीयसमेत रहेकी थापाले जनता र कार्यकर्ताको आग्रहमा आफूले उम्मेदवारी घोषणा गरेको बताएकी छन् । उनले महिला नेताहरू प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ भन्ने विश्वासका साथ आफू निर्वाचन लड्न तयार भएको बताइन्  । 



‘पार्टी समितिबाट सिफारिस आइसकेको थियो । स्थानीय कार्यकर्ता र जनताले नै उम्मेदवार बन्न आग्रह गरेकाले उम्मेदवारी घोषणा गरेकी हुँ । पार्टी नेतृत्वले पनि मलाई गरिएको सिफारिसअनुसार उम्मेदवार बनाउनेछ भन्ने विश्वास छ’ थापाले भनिन् । 

हास्य टेली चलचित्र ‘सक्किगो नि’ का पात्र ‘सिते बा’ अर्थात् कलाकार मधुसुदन पाठकले पनि काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट निर्वाचन लड्ने भएका छन् । यो क्षेत्र एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो । 



पाठकले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् । बिहीबार ललितपुरमा सुमन सायमी संयोजक रहेको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा कलाकार पाठक पनि उपस्थित थिए । 

सोही टेलीचलचित्रका अर्का कलाकार ‘जिग्री ब्रो’ कुमार कट्टेलले पनि झापा निर्वाचन क्षेत्र नं. ५ बाट निर्वाचन लड्ने तयारी गरिरहेको बताएका छन् । झापा–५ मा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि उम्मेदवार छन् । 

गायक सञ्जय श्रेष्ठले पनि काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनाव लड्ने घोषणा गरेका छन् । कुनै समयमा चर्चित पप गायका श्रेष्ठ अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध छन् । सकभर पार्टीको टिकट लिएर नत्र स्वतन्त्र भए पनि चुनाव लड्ने उनले बताएका छन् ।

श्रेष्ठले लेखेका छन्, ‘मेरो पार्टीले मलाइ टिकट दिए पनि नदिए पनि मैले आउँदो मङ्सिरताका हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौको क्षेत्र नम्बर ६ बाट फेरि उम्मेदवारी दिने निर्णय गरे । अब बाँकी तपाईंहरूको साथ र विश्वास ।’

गायक श्रेष्ठले २०७० सालको दोस्रो संविधानसभा चुनावमा राप्रपा नेपालको तर्फ काठमाडौं ६ मै प्रतिस्पर्धा गरेका थिए । तर, उल्लेख्य मत ल्याउन सकेनन् । त्यसपछि राजनीतिमा निस्क्रिय बनेका उनी गत मंसिरमा राप्रपा प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा भित्र्याएका थिए ।

नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले चुनाव उठ्ने मनशाय व्यक्त गरेकी छिन् । यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा सक्रिय रहेकी मानन्धर अहिले नेकपा एमालेमा प्रवेश गरेकी छन् । 

धेरै पटक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी मानन्धरले पार्टीले उम्मेदवारी बनाए आफू चुनावमा लड्नेसमेत घोषणा गरेकी छिन् । यद्यपि कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भन्नेबारे टुंगो लागेको छैन । 

उनले आफू एमालेमा कुनै बार्गेनिङ हिसाबले प्रवेश नगरेकी बताएकी थिइन् । आफूले कुनै पनि डिमान्ड नराखेको भन्दै उनले एमालेले आफ्नो क्षमताको पहिचान गरेर गहन जिम्मेवारी दिन्छ भन्ने विश्वास रहेको बताइन् ।

उनले पार्टीले आफ्नो तर्फबाट उमेदवारका रूपमा अगाडि सार्यो भने पछि नहट्ने भन्दै उनले अहिले भने चुनावमा उठ्ने, नउठ्न निधो नभएको बताएकी छिन् ।

त्यस्तै, ३ वर्षदेखि काठमाडौंमा बसेर कलाकारिता क्षेत्रमा पहिचान बनाएका अर्घाखाँचीका दुर्गा बन्जाडेले पनि प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । उनले भद्रगोल, गोलमाल, ख्याल ठट्टालगायत टेलिसिरियलहरूमा अभिनय गर्दै आएका छन् । 

कलाकार बन्जाडेले एउटा मात्र क्षेत्र रहेको अर्घाखाँचीबाट आफू चुनाव लड्न लागेको बताएका छन् । अर्घाखाँचीको यो क्षेत्रबाट २०७४ मा तत्कालीन माओवादी केन्द्रबाट टोपबहादुर रायमाझीले जितेका थिए । 

माओवादी र नेकपा एमाले मिलेर नेकपा बनेको र त्यो पार्टी विभाजनसँगै उनी एमालेतर्फ लागेपछि रायमाझीलाई माओवादीले कारबाही गर्दा यो क्षेत्रमा उपनिर्वाचन पनि भएन र हाल रिक्त नै रहेको छ ।

  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार २१:१३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया