दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा परी थप एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परी ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो ।
स्थानीय पत्रकार श्याम धामीका अनुसार पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि मृत्यु भएको छ । मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले बताए । शुक्रबार राति १ बजेतिर खसेको पहिरोमा फसेका मृतकका बुबा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जीवितै उद्धार गरिएको छ ।
यस्तै, नौगाड गाउँपालिका–२ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता रहेका छन् । पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँचिएर घाइते अवस्थामा उद्धार गरिएको छ । नौगाडमा पहिरोमा परी केही मानिस बेपत्ता भएको आशंका गरिएको छ ।
यस्तै, दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् ।
अहिलेसम्म एक विद्यालय, ११ घर, दुईवटा पुल र केही सवारीसाधन बाढीले बगाएको भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।