डा. केसीको सत्याग्रहको पाँचौँ दिन : थप जटिल बन्दै स्वास्थ्य अवस्था
डा. केसीको मुटुको चालमा गडबडी : सेती प्रादेशिक अस्पताल

सत्याग्रही डा. गोविन्द केसीको स्वास्थ्यमा थप समस्या देखापरेको छ । धनगढीमा जारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अवस्था जटिल भएको जनाएको हो ।

२०औं सत्याग्रह गर्न धनगढी आएका डा. केसीले सोमबारदेखि सत्याग्रह थालेका हुन् । सेती प्रादेशिक अस्पतालमा रहेका डा. केसीको टाउको दुख्ने, रिङ्टा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, मांसपेशी दुख्ने, बाउँडिने र मुटुको धडकनमा गडबडी हुने समस्या देखापरेको उनको स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकहरूले जनाएका छन् । 

अस्पतालका अनुसार डा. केसीको रक्तचाप घटेर ९० र ६० हाराहारीमा पुगेको, श्वासप्रश्वास दर बढ्दै गएको र शरीरको तौल घट्दै गएको छ ।

प्रयोगशाला रिपोर्टमा सुगरको मात्रा ४१ पुगेको छ भने क्याल्सियम, फस्पोरस, म्याग्नेसियम कम र पिसाबमा किटोनबडी बढ्दै गएको देखिएको अस्पतालले जनाएको छ । डा. केसीलाई शुद्ध पानी, नर्मल स्लाइन, रिङ्गर ल्याक्टेट मात्र प्रदान गरिएको र चिकित्सक टोलीबाट नियमित स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि धनगढीमा २०औं सत्याग्रहमा बसेका डा. केसीसँग वार्ता गर्न सरकारले कुनै औपचारिक प्रक्रिया थालेको छैन । लामो समयसम्म सरकारले वार्ता गर्न उदासिन भए डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिने चिन्ता गरिएको छ । 

अस्पतालले भेटघाटमा पनि रोक लगाएको छ । डा. केसीले आफू तीन करोड नेपाली जनताका लागि अनशन बसेकाले स्वास्थ्य अवस्था तलमाथि हुँदैमा फरक नपर्ने भन्दै औषधी लिन मानिरहेका छैनन् ।





  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १४:५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया